
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेबापत ८ वटा उद्योगले बक्यौता तिर्न थालेका छन् ।
बक्यौता नतिर्न अडान लिदै आएका उद्योगीले लाइन काटिने भएपछि धमाधम बक्यौता तिर्न थालेका हुन् । बिहिबार र शुक्रबार दुई दिनमा ८ उद्योगीले बक्यौता तिर्न आएका हुन् ।
बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिज लिमिटेड,अशोक स्टील इन्डष्ट्रिज लिमिटेड, सम्राट सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, रोल्पा सिमेन्ट लिमिटेड, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज, लक्ष्मी स्टील इण्डष्ट्रिज लिमिटेड, हामा आइरन एन्ड स्टील लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेड हुन्।
हुलास स्टिल इण्डस्ट्रीजले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ तिरेको छ । यो उद्योगको १४ करोड १२ लाख रुपैयाँ बक्यौता छ । अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ । यो उद्योगको १७ करोड ५८ लाख रुपैयाँ बक्यौता छ ।
सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिर्न थालेका छन् । तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए । तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम तिरेपछि गत वैशाखबाट किस्ता तिर्न छाडेका थिए ।
सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको थप महसुलको कुल ३ करोड ७७ लाख बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । उद्योगले चार किस्ता बुझाएपछि गत वैशाखबाट किस्ता बुझाउन छाडेको थियो । उद्योगले एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएपछि जेठसम्मको किस्ता चुक्ता भएको छ ।

स्वीकृत किस्ता सुविधा बमोजिम गत असारबाट असोजसम्म ११ किस्ता बुझाउनु पर्नेमा सात किस्ता मात्र बुझाएको । बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको र उद्योगले उक्त रकम तिरी बाँकी किस्ता नियमित रुपमा तिर्ने बताएको प्राधिकरण, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए ।
यसैगरी, रोल्पा सिमेन्टको ९९ लाख १२ हजार बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । ६ किस्ता तिरेपछि उद्योगले तिर्न छाडेको थियो । उद्योगले पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी नियमित किस्ता तिर्ने अवस्थामा पुगेको छ । अब उद्योगको १७ किस्ता तिर्न बाँकी छ ।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ ।
सिमरा स्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड ट्रन्क को कुल बक्यौता ५ करोड ८५ लाख रुपैयाँ मध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ ।
यस अघी नै बक्यौता तिर्न सुरु गरी बैशाखबाट तिर्न छोडेको परासी स्थित लक्ष्मी स्टीलले पनि किस्ता बापत ८४ लाख ९८ हजार बुझाएको छ ।
त्यसै गरी यस अघि किस्ता बुझाइ बिचमा छोडेको सर्बोत्तम सिमेन्टले ४० लाख बुझाएको छ ।