
काठमाडौं । विद्युत उत्पादन कम्पनीको निमित्त प्रमुख कार्यकारी निर्देशक (सीईओ)को जिम्मेवारी हिरामान वाइबाले पाएका छन् ।
बखत बहादुर शाहीले राजीनामा दिएपछि सीईओ पद रिक्त थियो । आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । काभ्रे स्थायी घर भएका वाइबा कम्पनीमा १० तहमा कार्यरत थिए । सीईओ पदपूर्ति नहुन्जेसम्मका लागि निमित्तको जिम्मेवारी वाइबाले पाएका हुन् ।
शाहीले किन दिए राजीनामा ?
शाहीले शनिबार बसेको सञ्चालक समितिको बैठकमा गम्भीर स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिएका हुन् । नेपाल कर्मचारी संगठन भियुसिएलले बुटवल पावर कम्पनीको ग्राउण्ड फ्लोरमा रहेको कार्यालयमा ताला लगाएको थियो ।
कम्पनी व्यवस्थापनले विभिन्न मितिमा भएका सहमति र प्रतिबद्धताहरु कार्यान्वयन नरगी मध्यरातमा कर्मचारीहरुलाई इमेलमार्फत पत्राचार गरी आतंक सिर्जना गर्ने तथा एकलौटी रुपमा अघि बढ्ने कार्य गरेको कर्मचारी संगठनको आरोप छ । कम्पनी र आयोजनामा परिचालन हुने कर्मचारीहरुलाई उपलब्ध गराउनुपर्ने यातायात,थप सेवा सुविधालगायतका निर्णयहरु अस्पष्ट, अव्यवहारिक र कार्यान्वयन गर्न अत्यन्त जटिल र खाइपाइ आएका सुविधा घटाउन लागिएको आरोप छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई बाइपास गर्दै एकलौटी रुपमा अघि बढेको भन्दै तालाबन्दी गरिएको उल्लेख छ। बिहिबारदेखि सबै कामकाज ठप्प पारेर तालबन्दी गरिएको थियो ।
सीईओ शाहीले बोर्डले निर्णय गरेको भन्दैआफूले केहि गर्न नसक्ने प्रतिक्रिया दिएका थिए । बोर्डले कर्मचारीको भत्ता कटाउने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलित बनेका थिए । कामै गर्न सक्ने अवस्था नरहेपछि उनले राजीनामा दिएका हुन् ।
२०८२ साउन १८ गते प्रतिस्पर्धाबाट उनी सीईओ बनेका थिए । २ वर्ष कार्यकाल बाँकी छदै उनले राजीनामा दिएका हुन् ।