
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
काठमाडौं । गत असोज दोश्रो साता आएको बाढीपहिराले क्षेति पुर्याएको बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरुले सास्ती भोग्नु परेको छ ।

दशैंको आगमनसँगै हजारौं यात्रुले प्रयोग गर्ने सो सडक अहिले पनि धुल्लामे भएको छ। बाढीले सडक पूर्ण रुपमा क्षति हुँदा यात्रा गर्न कठिन भएको छ ।
रोशीखोलाको बाढीले सो राजमार्गमा क्षेति पुगे पछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरुले सास्ती भोग्नु परेको हो ।
क्षतिग्रस्त राजमार्ग कहिले बन्ने सरकारी स्तरको निर्णय र आर्थिक सहायता बिना बन्ने सम्भावना भने कम रहेको छ ।
त्यति समयसम्म भने कच्ची सडकमा नै यात्रा गर्नु पर्ने देखिन्छ ।

सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।