
काठमाडौं । काठमाडौँ । अन्तरिम सरकार गठन प्रक्रियामा नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवाका प्रतिनिधिबीच आज निर्णायक छलफल हुने भएको छ।
जेनजी समूहले नयाँ प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिसकेका छन्। आजको छलफलले उक्त प्रस्तावलाई औपचारिकता दिने अपेक्षा गरिएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देल उपस्थित रहने छलफल विहीबार बिहानदेखि नै सुरु हुने भएको छ। उनले सो बैठकले देशलाई स्पष्ट निकास दिने विश्वास व्यक्त गरेका छन्।
यसअघि, भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएका आन्दोलनमा १९ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। आन्दोलनकारी युवाहरूको मागअनुरूप नै अब ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो।