Nepal Purbadhar

युरोप निर्यातका लागि थाइल्याण्डमै उत्पादन सुरु गर्दै बिवाईडी, ईयू भन्सार शुल्कबाट बच्ने रणनीति


काठमाडौँ । चिनियाँ विद्युतीय सवारी (ईभी) निर्माता कम्पनी बिवाईडीले पहिलो पटक थाइल्याण्डमा उत्पादन गरिएका गाडी युरोप निर्यात गर्न थालेको छ। कम्पनीले सोमबार जानकारी दिँदै ९०० भन्दा बढी युनिट बिवाईडी डल्फिन जर्मनी, बेल्जियम र बेलायत पठाएको घोषणा गरेको हो।

यो पहिलो पटक हो जब कम्पनीको आफ्नै जहाजले थाइल्याण्डबाट युरोपतर्फ यात्रा गरेको छ।

रेयोङस्थित सिकेडी कारखाना, जसले सन् २०२४ को जुलाईदेखि सञ्चालन सुरु गरेको हो, चीनबाहिरको बिवाईडीको पहिलो पूर्ण स्वामित्वमा रहेको पैसेंजर कार कारखाना हो। वार्षिक १ लाख ५० हजार गाडी उत्पादन क्षमतासहितको यस प्लान्टले स्थानीय थाइ बजारसँगै अन्तर्राष्ट्रिय निर्यातलाई समेत आपूर्ति गर्ने लक्ष्य लिएको छ। सञ्चालनको एक वर्षमै यसले ९० हजार युनिट सवारी वितरण गरेको थियो।

सिकेडी भन्नाले गाडीका भागहरू अलग–अलग गरी पठाएर गन्तव्य मुलुकमै असेंबली गर्ने प्रणालीलाई जनाउँछ। यस्तो विधिबाट आयात भन्सार शुल्क कम गर्न र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सकिन्छ ।

“जुलाईमा ९० हजारौं एनईभी वितरणपछि, हामी फेरि एक नयाँ उपलब्धि हासिल गरिरहेका छौं। थाइल्याण्डमै बनेका डल्फिन मोडलहरू पहिलो पटक युरोप पठाउनु हाम्रो वैश्वीकरण रणनीतिमा अर्को महत्वपूर्ण कदम हो। यसले थाइल्याण्डलाई विश्वव्यापी ईभी आपूर्ति शृंखलामा महत्वपूर्ण केन्द्रका रूपमा पनि स्थापित गरेको छ,” बिवाईडी थाइल्याण्डका महाप्रबन्धक के युबिनले बताए।

युरोपेली संघ (इयु) ले गत वर्ष चीनमा बनेका ईभीमा एण्टी–सब्सिडी भन्सार शुल्क लगाएको थियो। अनुसन्धानमा सहयोग गरेको कारण बिवाईडीले तुलनात्मक रूपमा कम अर्थात् २०.७ प्रतिशत थप शुल्क (पहिले नै तोकिएको १० प्रतिशत भन्सार शुल्कबाहेक) व्यहोर्नुपरेको छ।

यस वर्ष जनवरीदेखि जुलाईसम्मको सात महिनामा मात्र बिवाईडीले ५ लाख ४५ हजार युनिट ईभी विदेशमा बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३३.५ प्रतिशत बढी हो।

समग्रमा भने बिवाईडीले सोही अवधिमा २४ लाख ५८ हजार ९१४ प्यासेन्जर सवारी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २६.२ प्रतिशत वृद्धि हो। तर कम्पनीको वृद्धिदर भने सुस्त देखिएको छ। सन् २०२५ को जुलाई महिनामा कम्पनीले बिक्री गरेका ३ लाख ४१ हजार ३० युनिट सवारी अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत मात्र वृद्धि हो, जुन करिब डेढ वर्षयता सबैभन्दा कम वार्षिक वृद्धि हो।


Read Previous

कवाड व्यवसायीको आन्दोलन: भृकुटीमण्डपदेखि महानगर कार्यालयसम्म र्‍याली, बालेनविरुद्ध नाराबाजी

Read Next

शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar