
काठमाडौं । मित्रराष्ट्र भारतबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिएका विभिन्न सामग्री शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
जङ्गी अड्डामा सम्पन्न कार्यक्रममा भारत सरकारका विदेश सचिव विक्रम मिस्रीले प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। सहयोग सामग्रीमा लाइट भेहिकल ६ गोटा, आठ किसिमका अति आवश्यक चिकित्सकीय सामग्री, ५ वटा प्रजनन घोडा र २ वटा सैनिक कुकुर रहेका छन्।

उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत, बलाधिकृत, रथीवृन्द, भारतीय दूतावासका प्रतिनिधि तथा सैनिक सहचारीको उपस्थिति रहेको थियो।
नेपाली सेनाका अनुसार यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउने साथै सेनाको व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ