
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसंगै सडक सुरक्षा चूनौती बनिरहेको बताएका छन् ।
आइतबार ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल (नासा)ले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसी बारेको २ दिने कार्यक्रमको समापन समारोहमा उनले सडक संजाल बिस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताए ।
नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दाहालले बताए ।
सडक सुरक्षालाई कानुनी रुपमा स्थापित गर्न सडक सुरक्षा ऐन बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
कार्यक्रममा मोरङका शेखरचन्द्र राइलाइ सडक सुरक्षा अवार्ड प्रदान गरिएको छ ।
दुई दिनको कार्यक्रमको अवधिमा विभिन्न कार्यपत्रहरु माथि छलफल भएको आयोजक सस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए ।
सोही कार्यक्रममा मन्त्री दाहालले नेपालमा विद्युतीय सवारीको बारेमा शुरु हुने अनुसन्धानको शुभारम्भ पनि गरेका थिए ।