
तस्बिर: होटल सेफ्रनको सामाजिन सञ्जाल
काठमाडौं । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकामा निर्माण भइरहेको होटल सेफ्रन सिकेको क्षमतामा परिवर्तन हुने भएको छ ।
आयोजनाको निर्माण गरिरहेको होटल सेफ्रन सिके प्रालिले वन तथा वातावरण मन्त्रालयमा क्षमता बृद्धि गर्ने भएसँगै पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरेको हो ।
होटल स्रेफन यसअघि कुल २ वटा भवनसहित निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरि अनुमति लिएको थियो । जसमध्ये मुख्य भवन ८ तल्ला र रेष्टुरेन्ट भवन निर्माण गर्ने अनुमति थियो । उक्त अनुमतिमा ८१ वटा कोठामा १३० शय्याको होटल निर्माणका लागि स्वीकृत भएको थियो ।
हाल भने आयोजनामा परिवर्तन भएर मुख्य भवनमा थप दुई तल्ला थप गर्नका लागि होटल सेफ्रन सिके प्रालिले पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरेको हो । आयोजनाको क्षमता बृद्धि गरेसँगै यसमा २८ वटा कोठा थप भएर १०९ वटा कोठामा १३८ शय्याको होटल निर्माणका लागि अनुमति लिन पूरक वातवरणीय मूल्यांकन प्रतिवेदन पेश गरिएको हो ।
स्पा, साउना, स्विमिङ्ग पुल, जिम हललगायतका सुविधा रहने यो होटल बुटवलको वडा नम्बर ८ स्थित सुख्खानगरमा निर्माण भइरहेको छ । पूरक वातावरणीय प्रभाव मूल्यांकनअनुसार होटलको जग्गामा २ हजार ५०४.५४ वर्ग मिटर क्षेत्रफल थप गर्ने प्रस्ताव गरिएको छ, जसले होटलको कुल क्षेत्रफल ८ हजार ९४.८ वर्ग मिटर हुनेछ । त्यस्तै, होटलका भवनहरुको तल्लाको कुल क्षेत्रफल पनि प्रस्तावित १२ हजार ४९२.१३ वर्ग मिटर थप हुँदा २० हजार ९८८.७८ वर्ग मिटर हुनेछ । यससँगै आयोजनाको मुख्य भवनमा १० तल्ला हुनेछ ।
हयात इन्टरनेसनल साउन वेस्ट एसियाले होटल व्यवस्थापनको जिम्मा लिएको होटल सेफ्रन सिकेलाई हयात होटल कर्पोरेशनसँग सहकार्य गरेर सेवा सञ्चालन गरिनेछ । पुरानो क्षमता बढाउँदै स्तरोन्नती गर्दा होटलको कुल लागत भने करिब साढे २ अर्ब रुपैयाँ पुगेको छ ।