
काठमाडौं । नेपालमा पेप्सीसहित माउन्टेन ड्यु, स्लाईस, आक्वाफिनालगायतका ब्रान्डको पेयपदार्थको उत्पादन तथा बिक्री गर्ने कम्पनी बरुण बेभरेज प्रालिले साढे ८ महिनामा ५ अर्बबढिको व्यापार गरेको छ ।
कम्पनीले २०२५ को सुरुवाती साढे ८ महिनामा ५ अर्ब ७८ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
यसअघि २०२१ मा यो कम्पनीको व्यापार ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ भएकोमा २०२२ मा ८ अर्ब २ करोड ४० लाखको व्यापार गरेको थियो । यद्यपी कम्पनीको व्यापार २०२३ मा भने गिरावट भएर ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँ पुगेको थियो । २०२४ मा भने कम्पनीको व्यापार ७ अर्ब ७४ करोड ७० लाख रुपैयाँ पुगेको थियो ।
नेपालका लागि पेप्सिको ब्रान्डको आधिकारिक बिक्रेता रहेको बरुण बेभरेज प्रालि सन् १९८५ मा स्थापित कम्पनी हो । काठमाडौंको पेप्सीकोलामा उद्योग रहेको कम्पनीले कार्बोनेटेड पेयपदार्थको बिक्री गर्छ, जसमा पेप्सी, माउन्टेन ड्यु, स्लाईस, मिरिन्डा, सेभेन अप, आक्वाफिना, सोडा, स्टिङलगायत रहेका छन् । यो कम्पनीको सम्पुर्ण सेयर स्वामित्व भारतीय कम्पनी बरुण बेभरेज लिमिटेडसँग रहेको छ ।
हालका लागि भने यो कम्पनीले ३ अर्ब ४७ करोड ३० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा इक्रा नेपालले यो कम्पनीलाई सम्पुर्ण कर्जा सुविधाका लागि ए वान प्लस रेटिङ दिएको छ ।