
काठमाडौं । अर्घखाँची सिमेन्ट लिमिटेडले ९ महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।
२०२५ को सुरुवाती ९ महिनामा कम्पनीले यति व्यापार गरेको हो ।
२०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले त्यसपछिका वर्षहरुमा व्यापारमा गिरावट भोग्नु परेको थियो । २०२२ मा कम्पनीको व्यापार ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँमा सीमित भएको थियो भने २०२३ मा कम्पनीको व्यापार ५ अर्ब ७७ करोड २० लाख रुपैयाँमा सीमित भएको थियो ।
२०२४ मा भने कम्पनीको व्यापारमा केही सुधार भएर ६ अर्ब ६ करोड ६० लाख रुपैयाँको व्यापार भएको थियो । २०२५ को ९ महिनामा भने कम्पनीको व्यापार ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको भएको छ ।
१९९८ मा डायनेस्टी इन्डस्ट्रीज नेपाल प्रालिका रुपमा खुलेको यो कम्पनी २०११ मा अर्घखाँची सिमेन्ट प्रालिमा रुपान्तरण भई २०२१ मा पब्लिक कम्पनी बनेको थियो । यो कम्पनीले क्लिङ्कर तथा सिमेन्टको उत्पादन तथा बिक्रीबितरण गर्दै आएको छ । १० लाख मेट्रिक टन प्रति वर्षको क्लिङ्कर उत्पादन तथा ८ लाख मेट्रिक टन प्रति वर्षको ग्राइन्डिङ क्षमता रहेको यो कम्पनीको सेयर भने विभिन्न ८ जनासँग रहेको छ । सिद्धार्थ ग्रुपसँग ३५ प्रतिशत, मुरारका ग्रुपसँग ३० प्रतिशत, केडिया ग्रुपसँग १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनलसँग १७.५ प्रतिशत सेयर रहेको छ ।
रुपन्देहीको मैनहिया क्षेत्रमा रहेको कम्पनीको कारखानाबाट अर्घखाँची सिमेन्टकै नाममा ओपिसी र पिपिसी सिमेन्ट उत्पादन हुँदै आएको छ ।
हालका लागि भने यो कम्पनीले ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई २ अर्ब ५० करोड ८० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि प्लस र १ अर्ब ८४ करोड ९० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर प्लस रेटिङ दिएको छ ।