
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सूनिता डंगोलले महानगरका सबै जनप्रतिनिधिहरुलाई आवेग र उत्तेजनामा नभई संयमित भएर बजेट ल्याउने प्रक्रियामा सहभागी हुन अपिल गरेकी छिन् ।
डंगोलले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै जनप्रतिनिधिहरुलाई संविधान र कानुनले तोकेको परिधिभित्र रहेर खुल्ला छलफलमार्फत आवेग र उत्तेजनामा नभई संयमित भएर बजेट ल्याउने प्रक्रियामा सहभागी हुन अनुरोध गरेकी हुन् ।
उनले कानुनी व्यवस्थाअनुसार काठमाडौं महानगरको बजेट असार १० गतेभित्र नै प्रस्तुत हुनुपर्ने र असार मशान्तभित्रमा पारित गरिसक्नुपर्नेमा आजसम्म पनि बजेट निर्माणका लागि कार्यपालिका र नगरसभाको बैठक बस्न नसकेको बताइन । साथै बजेट तर्जुमा तथा कार्यक्रम समिति र मेयरको नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण सिमितिजस्ता बैठक पनि बस्न नसकेको बताएकी छिन् ।
‘उपप्रमुखको जिम्मेवारी सम्हालेदेखि नै मैले ‘सहमति,सहकार्य र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसात् गर्दै आएको छु र सोहीअनुसारको भूमिका पनि निभाउँदै आएकी छु,’ उनले भनेकी छिन्,’संविधान र कानूनले उपप्रमुखलाई निश्चित अधिकार दिएको छ। सोही परिधिभित्र रहेर मैले सधैँ व्यक्तिगत हितभन्दा महानगरवासीको बृहत्तर हितलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छु।’
उपमेयर डंगोलले आफूले आफ्नो क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिहरूसँग काठमाडौं महानगरपालिकाको बजेट समयमै ल्याउनुपर्छ भनेर पटक–पटक अनौपचारिक छलफल गर्दै आएको बताएकी छिन् । कार्यपालिका र नगरसभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिमा समेत आफूले कुरा राखेकी उनले बताइन् । उनले भनिन्, ‘आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु । उहाँहरुबाट मैले सकारात्मक संकेत पनि पाएकी छु।’