
काठमाडौं । युनाइटेड सिमेन्ट लिमिटेडको व्यापारमा सामान्य बृद्धि भएको छ ।
२०२३ को तुलनामा २०२४ मा कम्पनीको व्यापारमा केही बृद्धि भएको हो । २०२३ मा २ अर्ब ३८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२४ मा २ अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यसअघिका वर्षहरु हेर्दा २०२१ मा कम्पनीको व्यापार २ अर्ब ३४ करोड २० लाख रुपैयाँ भएको थियो भने २०२२ मा कम्पनीले २ अर्ब ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापारमा केही सुधार हुँदा मार्जिनमा पनि बृद्धि भएको छ । कम्पनीको इबिआइटिडिए मार्जिन (ब्याज, कर, मूल्यह्रास, र अमूर्त सम्पत्तिको मूल्यह्रास काट्नु अघि को आम्दानी) २०२१ मा २३.३६ प्रतिशत कायम भएको थियो । २०२२ मा १४.०८ प्रतिशत मार्जिन कायम भएकोमा २०२३ मा २०.४१ प्रतिशत मार्जिन कायम भएको छ । २०२४ मा २१.०० प्रतिशत मार्जिन कायम भएको छ ।
२००७ मा खुलेको युनाइटेड सिमेन्ट २०२४ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । यो कम्पनी मुख्य गरि ओपिसी र पिपिसी सिमेन्ट उत्पादनमा संलग्न रहेको छ, जसले युनाइटेड ओपिसी र राजधानी पिपिसी ब्रान्डका नाममा सिमेन्टको बिक्री गर्दै आएको छ ।
धादिङस्थित नौबिसेमा उत्पादन कारखाना रहेको यो कम्पनीले वार्षिक ३ लाख ३० हजार मेट्रिक टन क्लिंकर र ३ लाख ६६ हजार ३ सय मेट्रिक टन ग्राइन्डिङ क्षमता रहेको छ । कम्पनीको स्वामित्व भने नरेश दुगर, कुमुद कुमार दुगर र विकास दुगरसँग बराबर ३३ प्रतिशत रहेको छ ।
हालका लागि भने यो कम्पनीले ६ अर्ब ४२ करोड ८७ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ४ अर्ब २२ करोड ९७ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बी र २ अर्ब २० करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।