
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।
बुधबार बिहान बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्री श्रेष्ठले मन्त्रालयमा वरिष्ठ व्यवस्थापन समूह (एसएमटी)को बैठक बोलाएर घटनाको प्रारम्भिक अवस्थाबारे जानकारी लिएका थिए। बैठकमा उनले विपद्मा परेका कर्मचारी, मजदूर तथा सर्वसाधारणको उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
उनले गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल संयन्त्र परिचालन गर्न पनि निर्देशन दिएका छन्। विपद्सम्बन्धी सूचना व्यवस्थित र शीघ्र प्रवाह गर्न मन्त्रालय सक्रिय रहनुपर्ने बताउँदै उनले ऊर्जा तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी पुनःस्थापनाका काम अघि बढाउन निर्देशन दिए।
त्यस्तै, काठमाडौं उपत्यकासहित देशभर विद्युत् आपूर्तिलाई नियमित, सुरक्षित र दिगो बनाइराख्न आवश्यक वैकल्पिक तथा आकस्मिक व्यवस्थाका लागि तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार बाढीबाट सम्पर्कविहीन भएका कर्मचारी, मजदूर तथा स्थानीय बासिन्दाको अवस्था पहिचान गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले उद्धारका लागि सात ओटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाइसकेको छ भने थप १४ ओटा सवारीसाधन तयारी अवस्थामा राखिएको छ। हवाई उद्धारका लागि समेत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
उद्धार तथा समन्वयका लागि मन्त्रालयका सहसचिवलाई समेत प्रभावित क्षेत्रमा खटाइएको छ।

