
काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख तथा चिन्ता व्यक्त गरेको छ।
संघले बुधबार जारी गरेको विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिको तत्काल खोजी तथा उद्धारलाई उच्च प्राथमिकताका साथ अघि बढाउन संघले नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ।
त्यस्तै, प्रभावित नागरिकको सुरक्षित उद्धार तथा स्थानान्तरणसँगै आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, खानेपानी, अस्थायी आवास तथा राहत सामग्रीको शीघ्र व्यवस्था गर्न समेत संघले अनुरोध गरेको छ।
संघले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सहयोगमा जुटेका व्यक्ति र संस्थाप्रति आभार व्यक्त गरेको छ।
विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकको सहयोग, उद्धार तथा राहतका लागि सबै पक्ष एकजुट भएर सहकार्य र सहयोग गर्नुपर्ने संघको भनाइ छ।
विज्ञप्तिमा संघका महासचिव भीम कुमार गिरीले हस्ताक्षर गरेका छन्।
