Nepal Purbadhar

रसुवाको भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जनाको उपचार भइरहेको छ। उपचाररतमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने छन्।

त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भने २० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररतमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्बा तामाङ, कुशल मगर, एक पुरुषको पहिचान खुल्न नसकेको तथा नामथर बताउन नसक्ने अर्का एक पुरुष रहेका छन्।

त्यस्तै सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगरको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

गोरखाका टिमुरे गोसाइँकुण्ड–७ का कामु नगरकोटीको समेत सोही अस्पतालमा उपचार भइरहेको छ। नगरकोटीसँग तीन महिनाको नाबालक शिशु समेत रहेको प्रहरीले जनाएको छ।

शिक्षण अस्पतालमै टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवाको बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा ठूलो क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


Read Previous

५७८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित, विद्युत् आपूर्ति नियमित राख्ने प्रयासमा प्राधिकरण

Read Next

भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar