
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
मोदीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहलाई समवेदना दिएका हुन्। उनले विपद्को यस कठिन समयमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन्।
मोदीले नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता जनाएका छन्। साथै, उद्धार तथा राहत कार्यमा भारतका सम्बन्धित टोलीले नेपालसँग नजिकबाट समन्वय गरिरहेको जानकारी दिएका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत नेपालका प्रधानमन्त्री शाहसँग कुराकानी भएको जानकारी दिँदै बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका हुन्।
यसैबीच, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण घर, सडक, पुल तथा जलविद्युत् आयोजनासहितका भौतिक संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्।
भारतले बाढी प्रभावित भारतीय नागरिकको उद्धार तथा सहयोगका लागि काठमाडौंस्थित भारतीय दूतावासमार्फत आपत्कालीन सम्पर्क नम्बरसमेत सञ्चालनमा ल्याएको छ। भारतबाट नेपालमा आवश्यक राहत सामग्री पठाउने तयारी भइरहेको भारतीय सरकारी स्रोतले जनाएको छ।
प्रधानमन्त्री मोदीको सहयोग प्रस्तावलाई नेपालमा जारी उद्धार तथा राहत अभियानमा छिमेकी मुलुकबाट प्राप्त महत्वपूर्ण मानवीय सहयोगका रूपमा हेरिएको छ।
