
काठमाडौं । बाढी प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन्।
बाढीको समाचार सार्वजनिक भएलगत्तै बुधबार बिहान १०ः३५ बजे नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गर्दै आपतकालीन सहयोगस्वरूप विभिन्न स्रोतबाट करिब २५ अर्ब रुपैयाँ सहयोग गर्न सकिने जानकारी गराएका थिए।
दक्षिणी छिमेकी भारतले बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री बुधबार नै काठमाडौं ल्याउने तयारी भइरहेको बताएका छन्।
यस्तै, उत्तरी छिमेकी चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया सुरू गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेको जनाइएको छ।
छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले अन्तरसरकारी समन्वयमार्फत सहयोगको मोडालिटीबारे छलफल भइरहेको बताएका छन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि स्वदेशी तथा विदेशी सहयोग जुटाउने बाटो खुलेको सरकारले जनाएको छ।
सरकारले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि आवश्यक स्रोत परिचालनसँगै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग परिचालन गर्ने तयारी गरेको छ।

