Nepal Purbadhar

भोटेकोशी बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त, आवश्यक सहकार्य गर्न तयार


काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

नाइमा ले जारी गरेको विज्ञप्तिमा प्रारम्भिक विवरणअनुसार बाढीबाट सडक तथा पुल, विद्युत् तथा सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचना र अन्य महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गरेको छ।

बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन्। घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ ठूलो हुन सक्ने भन्दै नाइमा ले चिन्ता व्यक्त गरेको छ।

संघले प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गर्दै खोज, उद्धार तथा राहत कार्यमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ।

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा जोखिम कायम रहन सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन नाइमा ले आग्रह गरेको छ।

संघले सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ।

नाइमाले प्रभावित समुदायसँग साथमा रहँदै उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ।


Read Previous

नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनलाई फोन गरेर गरे सहयोगको वाचा

Read Next

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति तयारी पोशाक उद्योग संघ दुःखी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar