Nepal Purbadhar

भिजिट भिसा प्रकरण: गृहमन्त्रीले भने- राजनीतिक पूर्वाग्रहले प्रेरित षडयन्त्रमुलक आक्रमण भयो


काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूविरद्ध राजनीतिक पूर्वाग्रहले प्रेरित षडयन्त्रमुलक आक्रमण गरिएको बताएका छन् । 

प्रतिनिधिसभा संसदमा आफ्ना कुरा राख्न समय माग गरेतापनि प्रतिपक्षको अवरोधका कारण बुधबार पनि बोल्न नपाएका गृहमन्त्रीले आफूविरुद्ध नियोजित ढंगले आक्रमण भएको बताएका हुन् । उनले भने, “मलाई मेरो विरुद्धमा नियोजित ढंगले आक्रमण गरिएको छ । र यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ षडयन्त्रमुलक छ । र यसको क्रम जारी छ भन्ने मैले अनुभूति गरेको छु ।”

उनले संसदमा आफ्ना कुरा राख्ने प्रयास गरेतापनि प्रतिपक्षीका कारण आफ्नो कुरा राख्न नपाएको बताउँदै आफूमाथि उठेको प्रश्न बेठिक रहेको बताए ।

“म लामो समयदेखि तपाईंहरुको माझमा छु । मेरा सम्पुर्ण कामकारबाहीहरु व्यवहारहरु सबैले हेरिरहनु भएकै हुनाले मैले थप केही भनिरहनु परेन”, उनले भने, “तथापी सार्वजनिक पद धारण गरेका कारण बेला बेलामा प्रश्न उठ्छन् त्यसको जवाफ दिने जिम्मा व्यक्तिकै हुन्छ । मेराबारेमा र मैले काम गर्ने मन्त्रालयको बारेमा प्रश्नहरु उठेका छन् ।”

उनले अख्तियारले जेठ ८ गते त्रिभुवन विमानस्थलका सहसचिव तिर्थराज भट्टराईलाई सोधपुछका लागि अख्तियारले बोलाएको र सम्बन्धित कार्यालय र भट्टराईबाट कागजात र केही मोबाइललगायतका उपकरण अनुसन्धानका लागि लिएको विषय आफूले सञ्चारमाध्यमबाटै पाएको बताए ।


अख्तियारले अनुसन्धान थालेको विषयलाई लिएर यसमा आफ्नो पनि संलग्नता छ भन्ने किसिमले प्रचारप्रसार, समाचार र सामाजिक सञ्जालमा आएका कुराहरु असत्य रहेको बताए । उनले भने, “अख्तियारले अनुसन्धान थालेको यो विषयलाई लिएर यसमा मन्त्रीको पनि संलग्नता छ भन्ने किसिमले विभिन्न प्रचारप्रसारहरु समाचारहरु र सामाजिक सञ्जालबाट विचारहरु प्रसारण भएका छन् । यसमा मेरो संलग्नता देखाएर जसरी धारणाहरु अभिव्यक्त भएका छन्, यो  असत्य कुरा हो । यो बेठिक कुरा हो भन्न चाहन्छु ।”


Read Previous

उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

Read Next

कांग्रेसका पूर्व सांसद अफताब आलमलाई अदालतले दियो सफाई