Nepal Purbadhar

सरप्लस भएको बिजुली भारत निर्यात सुरु,मन्त्री भन्छन्- लोडसेडिङ सामाजिक सञ्जालमा भएको हल्ला हो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरप्लस भएको बिजुली भारत निर्यात थालेको छ ।

मंगलबारदेखि विद्युत निर्यात थालेको हो । मंगलबार मध्यरातीदेखि भारतमा ७ सय ३१ मेगावाट विद्युत बिक्री गरिएको ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बताए ।

उनले  ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन् ।  

प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरिएको बताए । उनले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा शुरुभएसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात शुरु गरिएको बताए । मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब १५० मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो। तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्नेगरी आपूर्ति भइरहेको बताए ।

       उनले विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाउँदै त्यस्ता कुराको कुनै तथ्य नपाइएको बताए । उनका अनुसार सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ र बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको मात्र हो।

 “विदेशबाट राति १२ बजे पनि फोन आउँछ, बारम्बार एउटै नम्बरबाट। बत्ती गयो भन्ने गुनासो गर्छन्, तर हामीले जब सो स्थानमा जाँच गर्छौं, बत्ती नियमित रहेको पाउँछौं। यसरी नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ,’ उनले भने ।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले यदि कही विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको उल्लेख गर्दै लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि नरहेको जिकिर गरे ।


Read Previous

निजी जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली विकासका लागि मौसम विज्ञान विभाग र इप्पानले गरे समझदारीपत्रमा हस्ताक्षर

Read Next

वैशाखमा कति भित्रिए विद्युतीय सवारी साधन?