Nepal Purbadhar

नेपाल इन्जिनियर्स एशोसिएसन र इन्जिनियरिङ परिषद्‌बीच समझदारी, नव इन्जिनियरहरूका लागि तालिम सञ्चालन हुने


काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद र नेपाल इन्जिनियर्स एशोसिएसन बीच ज्ञान सीपको आदानप्रदान र प्रचारप्रसार गरी इन्जिनियरिङ पेशा र यस संग सम्बन्धित व्यवसायको क्षमता विकासमा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहिबार नेपाल इन्जिनियरिङ परिषदका तर्फबाट अध्यक्ष ई. डा. पदम बहादुर शाही, रजिष्ट्रार ई.शिव मंगल गिरी र नेपाल इन्जिनियर्स एशोसिएसन का तर्फबाट एशोसिएनका महासचिव ई. बिनोद प्रकाश पण्डित, नेपाल इन्जिनियर्स एशोसिएसन समन्वय समितिका संयोजक ई. भरत प्रसाद बन्जाराले संयुक्त हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. सुवास बराललगायत इन्जिनियरिङ क्षमता अभिवृद्धि तथा गोष्ठी सञ्चालन समितिका सदस्यहरु ई. डा. अजय कुमार झा, ई. राजन लामा र ई. अम्बिका महतलगायतको उपस्थिति थियो ।

समझदारी अनुसार नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएका नवप्रवेशी इन्जिनियर र आर्किटेक्टहरूको क्षमता अभिवृद्धि र व्यावसायिक विकासका लागि विभिन्न विषयगत तालिमहरू सञ्चालन गरिनेछ ।

नेपाल इन्जिनियर्स एशोसिएसनले यो सहकार्यलाई दीर्घकालीन रूपमा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने दिशातर्फको महत्वपूर्ण आधारशिला भएको बताएको छ ।

तालिम कार्यक्रम एशोसिएसनको पुल्चोकस्थित प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ । विशेषगरी, परिषद्बाट हालै इन्जिनियरिङ लाइसेन्स प्राप्त गरेका इन्जिनियर तथा आर्किटेक्टहरू यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

समझदारीले नव इन्जिनियर तथा आर्किटेक्टहरूलाई ज्ञान र सीप विस्तारका थप अवसर प्रदान गर्ने, साथै देशको पूर्वाधार विकासमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।


Read Previous

एमसीसीले घर भाडामै सक्यो १७ करोड २४ लाख

Read Next

यस्तो छ नागढुंगाको विकल्प धार्के-सीतापाइला सडक