
काठमाडौं । भारत सरकारले सगरमाथा संवाद आयोजनाका लागि सहयोग स्वरुप १५ युनिट कर्भ ईभी उपहार दिएको छ ।
मित्रता र सद्भावको महत्वपूर्ण संकेतस्वरूप भारतका नेपालस्थित राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका छन्। भारत सरकारद्वारा प्रदान गरिएको यो उपहार २०२५ मा १६–१८ मेमा काठमाडौंमा हुने ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्न नेपाल सरकारलाई आवश्यक पर्ने व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले दिइएको हो । यस वर्षको संवादको मूल विषय ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ रहेको छ।

नेपाल सरकारको अनुरोधमा प्रदान गरिएका यी सवारी साधन संवाद आयोजना सम्बन्धी व्यवस्थापनलाई अझ सुदृढ बनाउन उपयोगी हुने विश्वास गरिएको छ ।
सवारी हस्तान्तरण समारोहमा बोल्दै राजदूत श्रीवास्तवले यी सवारी साधनहरूले सगरमाथा संवादको क्रममा सहभागी अतिथि तथा सरकारी अधिकारीहरूको आवतजावत सहज बनाउने बताए। उनले सन् २०२२ मा भएको संघीय तथा प्रादेशिक निर्वाचनमा भारत सरकारद्वारा नेपालका सुरक्ष निकाय र निर्वाचन आयोगलाई प्रदान गरिएको समान प्रकृतिको व्यवस्थापकीय सहयोग सम्झिए। साथै, उनले नेपाल सरकार र नेपाली जनतालाई संवाद सफलताका लागि शुभकामना दिँदै भारत नेपालसँग सहकार्य गर्दै आपसी प्रगति र विकासमा प्रतिबद्ध रहेको पुनः दोहोर्याए ।

नेपाल सरकारको तर्फबाट सवारी साधनहरू ग्रहण गर्दै माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देुवाले सगरमाथा संवादको सफल आयोजनामा भारतको सहयोगप्रति आभार व्यक्त गरिन् ख। उनले नेपालका पुराना र ठूला विकास साझेदारहरूमध्ये भारत प्रमुख रहेको बताउँदै दीर्घकालीन सहयोगको सराहना गरिन्।

नेपाल र भारतबीच बहुआयामिक र विविध क्षेत्रको विकास साझेदारी रहेको छ, जसले दुवै देशका जनताबीचको नजिकको सम्बन्ध प्रतिबिम्बित गर्दछ। यस प्रकारको व्यवस्थापकीय सहयोगले भारत सरकारको जनस्तरमा सहकार्य र विकासप्रति रहेको निरन्तर समर्थनलाई झल्काउँछ ।