
काठमाडौं । भारतले आइपिएलका कारण बिजुलीको माग बढेको भन्दै रोकेको बिजुली बिस्तारै दिन थालेको छ ।
भारतमै माग बढेपछि ६० मेगावाटमात्रै दिइरहेको भारतले ४०० मेगावाट दिन थालेको छ । जसले केहि राहात मिलेको प्राधिकरणका अधिकारीहरुले बताएका छन् । ‘अस्तिदेखि ४०० मेगावाट राती पनि आउन थालेको छ । दिनमा जति ल्याउन पनि समस्या छैन् । राती दिएको थिएन,अहिले ४०० मेगावाट आउन थाल्यो,’ प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले भने, ‘उपलब्ध भए जति बिजुली उद्योगलाई दिइरहेका छौं ।’
भारतले दिइरहेको ६०० मेगावाट बिजुली कटौती गरेर ५० मेगावाट मात्रै दिन थालेपछि उद्योगमा १३ घण्टासम्म लोड कटौती सुरु भएको थियो । जसको चौतर्फी आलोचना भएपछि प्राधिकरणले विज्ञप्ती जारी गरेर आइपिएलका कारण बिजुली आयात गर्न नसकिएको उल्लेख गरेको थियो ।
नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाही छन् । सुक्खा याममा नदिनालाको बहाव कम भइ उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । वर्खामा सरप्लस हुने भएपनि हिउँदमा भारत आयात गरेर माग धान्नुपर्ने बाध्यता छ । हिउँदमा ६०० मेगावाटसम्म भारतबाट आयात हुन्छ ।
प्राधिकरणका अनुसार जलाशय र सौर्य ऊर्जा सहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट छ । हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट छ । नपुग विद्युत भारतबाट आयात गरि आपूर्ति गर्ने गरिएको छ । गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको प्राधिकरणका अधिकारीहरुको भनाई छ ।