Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण   


म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि १२ करोड रुपैयाँ भन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो ।

निर्माण कम्पनी सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको जानकारी दिए ।

“कम्पोजित पर्खाल निर्माण गर्ने काम सकिएको छ”, उनले भने, “पर्खालको पछाडितर्फ माटो राखेर फिलिङ गर्न सुरु भएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।” सो योजनाका लागि २०७९ फागुनमा १२ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १८ महिनाको ठेक्का अवधि भएको योजना निर्धारित समयमै सकिए पनि भुक्तानी नपाएको सञ्चालक खड्काले गुनासो गरे ।

खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर ४ मिटर चौडाइको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाइएको परियोजनाका इञ्जिनियर नरजङ्ग गुरुङले बताए । बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा २ सयभन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।

मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा यसअघि करिब ४ सय मिटर पक्की पर्खाल निर्माण भएको थियो । परियोजनामार्फत करिब ४८ करोड रुपैयाँ लागतमा सञ्चालित सात वटा ठेक्काको योजना सम्पन्न हुने चरणमा छन् । भसभसे पहिरो र कटान नियन्त्रण योजनाको काम गत वर्षनै सकिएको थियो ।

परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको बताए । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा ५ ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गरिएको हो ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष एक अर्ब १९ करोड रुपैयाँकाे विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो ।

बेनी नगरपालिका–४ सिंगा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आर्थिक वर्षमा बजेट प्रस्ताव गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताए ।


Read Previous

नारायणगढ-बुटवल सडककाे थपिएको म्याद साउन ८ मा सकिँदै,पूर्वी खण्डमा ५२ प्रतिशत भाैतिक प्रगति

Read Next

रुपन्देहीमा आयल निगमको पेट्रोलियम भण्डारणगृह निर्माणले गति लियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *