बझाङ । २१० मेगावाटकाे चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लिएकाे छ । बझाङकाे तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट निर्माण सुरु गरिएको याे आयोजनाकाे कामले तीव्रता पाएकाे हाे ।
अहिले आयोजनाकाे अडिट सुरुङकाे निर्माण सुरु भइरहेकाे छ । आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेका अनुसार अहिले ३ वटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि काम भइरहेको छ । एउटा अडिट सुरुङ १३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको छ । एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै सुरु गरिएको उनले बताए ।
४ वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण सुरु गरिएको गौरवको चैनपुर सेती आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । प्राधिकरणले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
६ वटा अडिट टनेल निर्माण गर्नुपर्ने आयोजनामा अहिले तीनवटाको निर्माण भइरहेको जनाएको छ । अहिले अडिट नं तीन, अडिट नं छ र वष्ठी गाउँको अडिट सुरुङ निर्माण भइरहेको इन्जिनियर रोशन खड्काले जानकारी दिए । उनका अनुसार ४५० मिटर लामाे अडिट नं ३ सुरुङमा सबैभन्दा बढी १३० मिटर सुरुङ खनिएको छ ।
“बीचमा कुनै अवरोध नआए पाँच वर्षमा छवटा अडिट टनेल र एउटा मुख्य सुरुङ निर्माण भएर थप एक वर्षमा बाँधलगायतका काम गर्दै बिजुलीको बाल्ने तयारीमा छौँ”, उनले भने ।
चट्टान भएको ठाउँमा धेरै समय लाग्ने गरेको इन्जिनियर लोकेन्द्र कार्कीले बताए । उनले सुरुङ निर्माण गर्न चट्टान भएको ठाउँमा एक दिनमा एक मिटरसम्म खन्ने गरेको बताए । उनले ब्लाटिङ गर्नुपर्ने ठाउँमा दिनमा एक मिटर खन्ने काम सकिन्छ । माटो बढी भएको ठाउँमा दिनमा ५ मिटरसम्म पनि काटिने गरेको उनले बताए ।