ललिततपुर । ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा दुईवटा अपाङ्गतामैत्री आकाशे पुल निर्माण भइरहेका छन् । महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन् ।
आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकाशे पुल निर्माणकार्य जारी रहेका जानकारी दिए ।
उनका अनुसार निर्माण हुँदैगरेका ती आकाशे पुल अपाङ्गतामैत्रीसमेत हुने छन् । “महालक्ष्मीस्थान चोक र सानेपा चोकमा यात्रुको भीडभाड धेरै भएकाले स्थानीयको मागअनुसार आकाशे पुल निर्माण हुन लागिएको हो । यी दुवै पुल ह्विलचियरसमेत गुडाउन मिल्ने गरी अपाङ्गतामैत्री हुनेछन् ,”उनले भने ।
पैदलयात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता २०७५ मा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो । सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्नपर्ने छ ।
महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले भीडभाड हुने मुख्य चोकमा आकाशे पुल निर्माण भएमा पैदलयात्रुलाई निकै सहज हुने बताए । “यहाँ दैनिक सयौँ मान्छे आवतजावत गर्छन् तर आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम छ । आकाशे पुल निर्माणपछि धेरै सहज हुनेछ”, उनले भने ।