Nepal Purbadhar

कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने


काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयु) अन्तर्गत स्थापित कन्सियस इनर्जी कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादन प्रवर्द्धन गर्न जलविद्युतको ठूलो लगानीकर्ता ऊर्जा डेभलपर्स कम्पनीसँग सहकार्य गर्ने भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन बिहीबार कन्सियस इनर्जीले नेपालका जलविद्युत आयोजनामा लगानी गर्दै आएको ऊर्जा डेभलपर्स कम्पनीसँग ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लागानी प्रवर्द्धन गर्न रणनीतिक साझेदारी गर्ने घोषणा गरेको हो ।

यसअघि सन् २०२३ मा सम्पन्न ऊर्जा सम्मेलनमा कन्सियस कम्पनी र ऊर्जा डेभलपर्सबीच ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लगानी प्रवर्द्धन गर्न समझदारी भएको थियो । ऊर्जा सम्मेलनमा भएको समझदारी कार्यान्वयन गर्न नै कन्सियस कम्पनीले रणनीतिक साझेदारी गर्ने घोषणा गरेको केयुले जनाएको छ ।

कन्सियस इनर्जी २०८० सालमा केयुले स्थापना गरेको कम्पनी हो । यो कम्पनीले ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लगानी गरी प्लान्ट सञ्चालनका लागि निजी क्षेत्रलाई परामर्श सेवा दिनेछ । यो कम्पनीलाई केयुको इनर्जाइज नेपाल कार्यक्रम अन्तर्गत ग्रीन हाइड्रोजन प्रविधि प्रवद्र्धन गर्न आर्थिक सहायता गरेको छ । यो कम्पनीले अहिले हरित ऊर्जा विकासमा सक्रिय ढंगले काम गरिरहेको केयुले जनाएको छ ।

केयुको ग्रीन हाइड्रोजन ल्याबको प्रतिनिधित्व गर्ने कन्सियस इनर्जी कम्पनीले आफ्नोतर्फबाट ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनका आयोजनाका लागि आवश्यक अध्ययन, अनुसन्धान तथा प्राविधि विज्ञताको काममा ऊर्जा डेभलपर्सलाई सहयोग गर्नेछ । ऊर्जा डेभलपर्सले पनि ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनका आयोजनामा लगानी जोहो गर्नेछ ।

ऊर्जा डेभलपसकोतर्फबाट कन्सियस इनर्जी कम्पनीमा सेयर लगानी समेत हुने केयुले जनाएको छ । केयुका अनुसार कन्सियस इनर्जी कम्पनीलाई नेपालको ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लगानी आकर्षित गर्ने ठूलो सार्वजनिक कम्पनीकोरूपमा खडा गर्ने योजना छ ।

ऊर्जा डेभलपर्स र कन्सियस इनर्जी कम्पनीबीच ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लगानी प्रवद्र्धन गर्न गरिएको साझेदारीलाई भृकुटीमण्डपमा जारी हिमालयन हाइड्रो एक्स्पोमा संयुक्त स्टलमा प्रदर्शनमा राखिएको छ ।


Read Previous

विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह

Read Next

बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे