Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

गण्डकी प्रदेशका ६५ पूर्वाधार आयोजना ठेक्कामा लैजान स्वीकृति


गण्डकी । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक सय २० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले बहुवर्षीयमा छानिएका आयोजनाको ठेक्का प्रक्रिया सुरु भइसकेको जानकारी दिए । “मन्त्रालयले प्रस्ताव गरेका एक सय २० आयोजनामध्ये ६५ आयोजनाको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनश्चित भइसकेको छ, बाँकी आर्थिक मामिला मन्त्रालयमा अध्ययनको क्रममा छन्”, उनले भने।

बढीमा  २५ करोड रुपैयाँ लागतसम्मका आयोजना बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार ५  करोड रुपैयाँभन्दा कम लागतका ३३ र  ५ करोड रुपैयाँभन्दा धेरै लागतका  ३२ आयोजनाको छन् ।

बहुवर्षीय ठेक्काका लागि कास्कीका ८, गोरखाका ६, तनहुँका ८ , नवलपुरका १०, पर्वतका ४, बागलुङका ८, मुस्ताङको एक, मनाङका दुई, लमजुङका ६, स्याङ्जाका ८ र म्याग्दीका ४ आयोजना छनोटमा परेका हुन् । “आगामी तीन आर्थिक वर्षसम्मका लागि आयोजनाको बजेट सुनिश्चित गरिएको छ, यसबाट आयोजना निर्माणले गति लिने र समयमै सम्पन्न हुने विश्वास लिइएको छ”, पौडेलले भने, “थप आयोजनालाई पनि बहुवर्षीय ठेक्कामा लैजाने गरी तयारी भइरहेको छ, आर्थिक मामिला मन्त्रालयबाट स्वीकृत भएर आउन बाँकी छ ।”

बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएका सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि ५ अर्ब ४९ करोड ६४ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सुनिश्चित भएको मन्त्रालयले जनाएको छ । अधिकांश ३ वर्षका र केही २ वर्षका आयोजना बहुवर्षीय ठेक्कामा जाने प्रवक्ता पौडेलले जानकारी दिए । चालू आवमा टुक्रे योजना कटौती गरेको मन्त्रालयले बहुवर्षीय आयोजना छनोट प्रक्रियालाई पनि थप व्यवस्थित बनाएको उनकाे भनाइ छ ।

संघ सरकारले पठाएका टुक्रे प्रकृतिका योजनासमेत फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला आयोजना लागि व्यवस्थापन गरिने भएको छ । संघ सरकारले चालू आवमा ३० लाख रुपैयाँभन्दा कम बजेटका १७४ वटा योजनाका लागि १६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो बजेट दायित्व सिर्जना भएका सङ्घीयका आठवटा सडक आयोजनामा रकामान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।


Read Previous

कर्णाली प्रदेशकाे डिजिटल मार्गचित्र तयार गर्न शुक्रबारदेखि प्रविधि सम्मेलन हुँदै

Read Next

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान   

Leave a Reply

Your email address will not be published.