Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’

दोसल्लेमा बिजुलीको नाङ्गो तार हटाउन थालियो


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ । सुुन्तलाको बगैँचाभित्र रहेको विद्युत्को नाङ्गो तारका कारण दुर्घटनाको जोखिम बढेको थियो ।

नाङ्गो तारका कारण किसान बगैँचामा पस्न डराउने गरेका थिए । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले सुन्तला बगैँचाभित्र रहेको नाङ्गो तार हटाउन थालेको दोसल्लेका बासिन्दासमेत रहेका अन्नपूूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले जानकारी दिइन् । उनका अनुसार नाङ्गो तार हटाएर राखिने एबिसी केबुल तारसहित मजदुर र प्राविधिकको टोली बुधबार दोसल्ले पुगेको छ ।

‘सुन्तलाको हाँगाले नाङ्गो तार छोएकाले बगैँचाभित्र पस्न जोखिम थियो’, उनले भनिन् । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने काम सुरु भएको हो । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बरालले दोसल्लेमा एक किलोमिटरभन्दा बढी वितरण लाइनको नाङ्गो तार हटाएर एबिसी केबुल राख्न थालिएको बताए ।

बयालिस परिवार बस्दै आएको दोसल्लेमा पूरै गाउँमा सुन्तलाखेती गरिएको छ । नौ हजार सुन्तलाका बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नाङ्गो तारले हाँगा छुन थालेको थियो । ‘सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ’, दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष प्रेम पाइजाले भने, ‘तारमा छोइएर सुन्तलाका बोट मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्न डर छ ।’

सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नाङ्गो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नाङ्गो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका छन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताए । स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नाङ्गो तार हटाएर एबिसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गर्दैआएका थिए । अन्नपूर्णको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युत्को तार व्यवस्थापन गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् ।


Read Previous

जलवायु परिवर्तनसम्बन्धी खोज–अनुसन्धान गर्न प्रधानमन्त्रीको आग्रह

Read Next

दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

Leave a Reply

Your email address will not be published.