Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

गोरखा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तार गर्ने तयारी


गोरखा । लामो समयसम्म सडक विस्तार हुन नसकेको गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको छ । गोरखा नगरपालिका र वडा कार्यालयको समन्वयमा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तारसँगै सुविधा सम्पन्न फुटपाथ निर्माण गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत गर्न लागिएको सडक विस्तारको पहिलो चरणमा गोरखा–६ स्थित पुरानो बसपार्कदेखि वडा नं ८ को खोलखोलेसम्म सडक विस्तारसँगै सुविधा सम्पन्न फुटपाथ निर्माण हुने उनले बताए ।

‘पहिलो चरणमा पुरानो बसपार्कदेखि खोलखोले क्षेत्रको सडक विस्तार गरी फुटपाथ बनाउन लागिएको हो’, नगरप्रमुख रानाले भने, ‘साँघुरो सडकलाई चौडा गर्न र दुवैतर्फ नाला निर्माणका लागि नापजाँचको काम सम्पन्न भएको छ ।’ नगरपालिकाले सडक विस्तारका लागि प्राविधिकसहितको टोली परिचालन गरी पुरानो बसपार्कदेखि खोलखोले क्षेत्रसम्मको नापजाँचसमेत गरिसकेको उनले बताए । सडक विस्तार गर्न पहिलो चरणमा नगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाका इञ्जिनियर प्रकाश ढकालका अनुसार प्रारम्भिक सर्भेको काम सम्पन्न भइसकेको छ । ‘सडक कति मिटरको बनाउने, कस्तो खालको फुटपाथ बनाउने र नाला कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ’, इञ्जिनियर ढकालले भने, ‘एउटै प्याकेजमा काम हुने गरी डिपिआर तयार गर्नेतर्फ नगरपालिकाले योजना बनाएको छ ।’ सडक चौडा गरी नयाँ नाला निर्माण गरेर त्यहाँ भएका क्यारीलाई फालेर सुविधा सम्पन्न फुटपाथसहित बत्तीको व्यवस्था गर्दा करिब १२ करोड रुपैयाँ जति खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिए ।

पुरानो संरचना बनाएर सुविधा सम्पन्न संरचना निर्माण गर्ने नगरपालिकाको योजना रहेको ढकालको भनाइ छ । सडक विस्तार र दुवैतर्फ नालाको निर्माणका लागि वडा कार्यालयलेसमेत पहिलो चरणमा केही रकम विनियोजन गरेको गोरखा–६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशीले बताए । ‘वडाबाट अहिले हामीले रु १० लाख छुट्टाएका छौँ’, उनले भने, ‘बहुवर्षीय योजना भएका कारण डिपिआरपछि पनि बाहिरबाट पैसा नआएको खण्डमा स्थानीयस्तरबाट नै रकम विनियोजन गरेर काम सम्पन्न गर्नेछौँ ।’ नगरपालिकाले कात्तिकभित्रै डिपिआर तयार गरेर बोलपत्र आह्वान गर्ने र मङ्सिरबाटै कामको थालनी गर्ने तयारी गरेको छ ।


Read Previous

अपर तामाकोशीको हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम संकलन

Read Next

तातोपानी नाकामा चहलपहल बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *