Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने


नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने मेशिन राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो । नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्ने उद्देश्यले जिल्लाका तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले  बताए ।
गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको एकमात्रै जिल्लाका रुपमा रहेको नवलपुरमा पश्चिमबाट जिल्ला भित्रिने नाका दाउन्ने, पूर्वबाट जिल्ला भित्रिने नाका गैँडाकोटको पुलचोक तथा जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन स्क्यान गर्ने अत्याधुनिक मेसिन, चेकपोष्ट र सिसी क्यामेरा जडान गर्ने तयारी भएको तिवारीको भनाई छ ।  मेसिनले सवारीसाधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि स्वचालितरुपमा स्क्यानिङ गरी अभिलेख राख्ने बताइएको छ ।
जिल्लामा जडान हुने स्क्यान मेसिनले जिल्लाको समग्र सुरक्षा व्यवस्था तथा ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । राजमार्गमा सवारीसाधन स्क्यान मेसिन राख्नका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले यसअघि नै नेपाल सरकारलाई आग्रह गरेको अनि सरकार र सडक आयोजनासँगको परामर्शमा आयोजनाले नै यी उपकरण राखिदिन सहमति जनाएको तिवारीले बताएका छन् ।  सवारीसाधन स्क्यान गर्ने मेसिन, चेकपोष्ट र सिसी क्यामेरा जडानका लागि झण्डै रु छ करोड लाग्ने अनुमान गरिएको छ ।

Read Previous

खाँदबारीमा क्याम्पस भवन उद्घाटन

Read Next

हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र

Leave a Reply

Your email address will not be published.