काठमाडौं । नेपाल राष्ट्र बैंक (नेराबैं) र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले सम्झौता गरेका छन् । विद्युतीय भुक्तानीमा अभिवृद्धि र डिजिटल वित्तीय सेवा बढाएर नेपालमा वित्तीय प्रविधि (फिनटेक) इकोसिष्टम बढाउनेबारे दुई पक्षबीच सम्झौताले भएको हो ।
यो साझेदारी नेराबैं र आईएफसीको नेपाल डिजिटल वित्तीय सेवा परियोजनाअन्तर्गत भएको हो । यसले आगामी तीन वर्षभित्र नेराबैं र फिनटेक बजारका खेलाडीहरुसँग नजिकमा रहेर फिनटेक इकोसिष्टमा सुधारलाई बलियो बनाउन जोड दिनेछ ।
नेपालको फिनटेक उद्योग अहिले शैशव अवस्थामा छ । सन् २०२२ को जनवरीसम्ममा दर्ता भएका फिनटेक कम्पनीको संख्या ७० मात्रै थियो ।
आफूहरु फिनटेक क्षेत्रभित्र लगानीलाई प्रोत्साहन गर्न फिनटेक इकोसिष्टमलाई बलियो बनाउन टेवा दिन प्रतिबद्ध रहेको नेपालका लागि आईएफसीका कन्ट्री प्रतिनिधि बाबाकार एस. फायले भने ।