काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेका सडक आयोजनाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अवलोकन र छलफल गर्ने भएका छन् । लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले ५ आयोजनामा निर्माण गरिरहेको छ ।
नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न लागेका हुन । काठमाडौं–तराई मधेश फास्ट ट्रयाकमा भनेजति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम भएको छैन ।
‘मन्त्रीज्यूले १८ भदौमा नेपाली सेनासँग छलफल गर्ने कार्यक्रम तय गर्नुभएको छ’ मन्त्रीका नीजि सचिव रामहरी शर्माले भने ‘छलफलपछि मन्त्रीज्यू आफै स्थलगत भ्रमणमा पनि जाने कार्यक्रम तय भएको छ’ ।
नेपाली सेनाले काठमाडौं–तराई मधेश, कोशी करिडोर, गोरखाको लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ । यी सवै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम मन्त्री ज्वालाले बनाएको सहसचिव अर्जुन थापाले बताए ।
काठमाडौं तराई मधेश फास्ट ट्रयाकको पछिल्लो समय डिपीआर संशोधन भएको छ । डिपीआर संशोधनपछि लागत मुल्य २ अर्ब २ करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ । टनेल थपिदा बाटोको लम्वाई पनि कम भएको छ ।
मन्त्री ज्वालाले सडक विभागअन्र्तत सञ्चालन भएका आयोजनाको ‘टायम कार्ड’ लागु गरेका छन् । तर नेपाली सेनाले आयोजना गरेका आयोजनाको तालिका बनेको छैन । तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने कार्यक्रम राखिएको छ ।