काठमाडौं । भारत थप अन्तरग्रहीय मिसनहरु लञ्च गर्न सक्षम रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो)का अध्यक्षले बताएका छन् । चन्द्रयान–३को सफल प्रक्षेपणपछि अन्तरिक्ष अन्वेषण बढाउने योजना तीव्र पार्ने सुर भारतले कसेको छ । यो लक्ष्य इस्रो अध्यक्ष एस सोमनाथको शनिबारको अभिव्यक्तिमा पनि झल्किथ्यो ।
चन्द्रयानको सफल प्रक्षेपणपछि भारत मंगल र शुक्रसम्म पुग्न सक्छ भन्ने विश्वास बढेको तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा उनले भने । प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घकालीन अन्तरिक्ष विस्तारको महत्वकांक्ष पूरा गर्न इस्रो सम्पूर्ण रुपमा तयार रहेको पनि उनले बताए । चन्द्रयानको अवतरण मात्रै नभएर यसको हरेक पक्ष सफल भएको उनको भनाई छ ।
चन्द्रयान–३को सफल अवतरणले भारत चन्द्रमा बाहेक मंगल र शुक्र ग्रहसम्म यात्रा गर्न सक्ष भएको तर यसको लागि मनोबल थप दरिलो बनाउनु पर्ने उनी बताउँछन् । यसमा लगानीको कुरा पनि आउँछ । भारतले सूर्यको अध्ययन गर्न अन्तरिक्षमा आदित्य–एल१ पठाउने तयारी गरिरहेको छ ।
सेटलाईट तयार रहेको अनि श्रीहरिकोटा पुगेको उनले बताए । सेप्टेम्बरको पहिलो हप्तामा आदित्य–एल१ प्रक्षेपण गरिनेछ । यो सूर्यको अध्ययन गर्न भारतले अन्तरिक्षमा पठाउन लागेको पहिलो सेटलाइट हुनेछ । प्रक्षेपणको मिति २ दिनभित्र घोषणा हुने उनको भनाइ छ । एजेन्सी