Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

लगानी बोर्डद्वारा ४ जलविद्युत आयोजनाकाे ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत


काठमाडौं । लगानी बोर्डले ४ जलविद्युत आयोजना निर्माणका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डको शुक्रबार बसेको ५५औं बैठकले १७९ मेगावाटका आयोजनामा हुने लगानी स्वीकृति गरेको हो ।

बैठकले निर्माणमा जाने चरणमा पुगेका २२ मेगावाटकाे रोल्वालिङ्ग खोला, ६३ मेगावाटकाे छुजुङ्ग खोला, ४९.९५ मेगावाटकाे दाना खोला र ४४.५२ मेगावाटकाे सानीभेरी जलविद्युत आयोजना निर्माणका लागि कूल ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको सहसचिव एवं बोर्डका प्रवक्ता अमृत लम्सालले बताए ।

उनका अनुसार लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशय जलविद्युत आयोजनाकाे कार्यान्वयन प्रक्रिया अघि बढाउने सम्बन्धमा अहिलेसम्म भएकाे प्रगतिकाे  समीक्षा गर्दै भावि कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय समेत गरेकाे छ।

यस्तै, बैठकले झापाको दमकस्थित चीन–नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाटकाे ब्याट्री सहितकाे सौर्य विद्युत आयोजनाकाे  अध्ययनका लागि डाेल्मा हिमालयन इनर्जी (Dolma Himalayan Energy) लाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ। साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गर्न  रिसेन इनर्जी कम्पनी (Risen Energy Co. Ltd.)  ले पेश गरेकाे विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डले लिएको छ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। यसका अतिरिक्त, बोर्ड बैठकले Green Calcium Ammonium Nitrate (CAN) Fertilizer Factory  स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित NIKOLA Sdn. Bhd. सँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधिहरु तथा ५४औं  बैठकका निर्णय कार्यान्वयन अवस्था र ५५औं बैठकका कार्यसूचीका सम्बन्धमा संक्षेपमा प्रस्तुतीकरण गरेका थिए ।

बैठकले महत्त्वपूर्ण निर्णय गरेकाे प्रधानमन्त्री एवं बाेर्डका अध्यक्ष पुष्पकमल दाहालले अहिले कार्यान्वयनमा रहेका आयोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रभावकारी बनाउन र लगानी स्वीकृति तथा कार्यान्वयन सम्बन्धी प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी रुपमा कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायहरूलाई निर्देशन दिए ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, निजी क्षेत्रका विज्ञ सदस्यहरू भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठ लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।


Read Previous

तटबन्ध भत्किएपछि बस्तीतिर पस्दै राप्ती

Read Next

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

Leave a Reply

Your email address will not be published.