
काठमाडौं । नेपालमा स्थिर ब्रोडब्यान्ड इन्टरनेट सेवाको विस्तार तीव्र बन्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको असार २०८३ को तथ्यांकअनुसार नेपालमा स्थिर ब्रोडब्यान्ड सेवाका कुल ३५ लाख ७३ हजार ९ सय ५५ सदस्यता पुगेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार स्थिर ब्रोडब्यान्डअन्तर्गत तारयुक्त सेवाका ३५ लाख ४३ हजार ३ सय ५३ र ताररहित सेवाका ३० हजार ६ सय २ सदस्यता छन्। तारयुक्त स्थिर ब्रोडब्यान्डको बजार हिस्सा ९९ प्रतिशतभन्दा बढी छ भने ताररहित सेवाको हिस्सा १ प्रतिशतभन्दा कम छ।
स्थिर ब्रोडब्यान्ड सेवामा फाइबर इन्टरनेटको हिस्सा सबैभन्दा ठूलो रहेको छ। कुल स्थिर ब्रोडब्यान्ड सदस्यतामध्ये ३५ लाख ४३ हजार १ सय २५ फाइबरमार्फत र २२८ एडीएसएल/केबलमार्फत छन्। ताररहित वाइफाइ सेवाका सदस्यता ३० हजार ६ सय २ रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
वर्ल्डलिंकको बजार हिस्सा ३०.५६ प्रतिशत
स्थिर ब्रोडब्यान्ड इन्टरनेट सेवामा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड सबैभन्दा ठूलो सेवा प्रदायकका रूपमा रहेको छ। कम्पनीका कुल १० लाख ९२ हजार २९ सदस्यता छन्। स्थिर ब्रोडब्यान्ड बजारमा वर्ल्डलिंकको हिस्सा ३०.५६ प्रतिशत रहेको छ।
नेपाल टेलिकम ४ लाख २२ हजार ३ सय ४ सदस्यतासहित दोस्रो स्थानमा छ। कम्पनीको बजार हिस्सा ११.८२ प्रतिशत रहेको छ।
डिस मिडिया नेटवर्क ३ लाख ७४ हजार २ सय १८ सदस्यतासहित तेस्रो स्थानमा छ। यसको बजार हिस्सा १०.४७ प्रतिशत रहेको छ।
भायानेट कम्युनिकेसन ३ लाख ७३ हजार ८ सय ५१ सदस्यतासहित चौथो स्थानमा छ। कम्पनीको बजार हिस्सा १०.४६ प्रतिशत रहेको छ।
क्लासिक टेक २ लाख ९२ हजार ९ सय २२ सदस्यतासहित पाँचौँ स्थानमा छ। यसको बजार हिस्सा ८.२० प्रतिशत रहेको छ।
त्यस्तै, सुबिसु केबलनेट २ लाख ६८ हजार ६ सय २२ सदस्यतासहित छैटौँ, वेबसरफर नेपाल १ लाख ७३ हजार ७ सय ३६ सदस्यतासहित सातौँ, वाइफाइ नेपाल १ लाख १८ हजार ७ सय ७८ सदस्यतासहित आठौँ, टेकमाइन्ड्स नेटवर्क १ लाख १८ हजार ६ सय ७८ सदस्यतासहित नवौँ र सीजी कम्युनिकेसन्स ९३ हजार ५ सय ३४ सदस्यतासहित दशौँ स्थानमा छन्।
स्थिर ब्रोडब्यान्डका शीर्ष १० ठूला सेवा प्रदायक
| क्रम | सेवा प्रदायक | कुल सदस्यता | बजार हिस्सा |
|---|---|---|---|
| १ | वर्ल्डलिंक कम्युनिकेसन्स | १०,९२,०२९ | ३०.५६% |
| २ | नेपाल टेलिकम | ४,२२,३०४ | ११.८२% |
| ३ | डिस मिडिया नेटवर्क | ३,७४,२१८ | १०.४७% |
| ४ | भायानेट कम्युनिकेसन्स | ३,७३,८५१ | १०.४६% |
| ५ | क्लासिक टेक | २,९२,९२२ | ८.२०% |
| ६ | सुबिसु केबलनेट | २,६८,६२२ | ७.५२% |
| ७ | वेबसरफर नेपाल | १,७३,७३६ | ४.८६% |
| ८ | वाइफाइ नेपाल | १,१८,७७८ | ३.३२% |
| ९ | टेकमाइन्ड्स नेटवर्क | १,१८,६७८ | ३.३२% |
| १० | सीजी कम्युनिकेसन्स | ९३,५३४ | २.६२% |
यी शीर्ष १० सेवा प्रदायकसँग मात्रै २८ लाखभन्दा बढी स्थिर ब्रोडब्यान्ड सदस्यता रहेका छन्। यसले नेपालको स्थिर ब्रोडब्यान्ड बजार केही ठूला सेवा प्रदायकको प्रभावमा केन्द्रित रहेको देखाउँछ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार स्थिर ब्रोडब्यान्ड सेवामार्फत १ करोड ५४ लाख ८४ हजार ४ सय ५३ जनासम्म पहुँच पुगेको अनुमान गरिएको छ। स्थिर ब्रोडब्यान्डको जनसंख्या पहुँच ५३.०९ प्रतिशत रहेको छ।
