Nepal Purbadhar

चक्रपथको कलंकी-बसुन्धारा खण्ड निर्माण चाडपर्वपछि सुरू हुने (तस्बीरहरू)

तस्बिर: नेपाल फोटो लाइब्रेरी


काठमाडौं । चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दशैं–तिहार)लगत्तै सुरू हुने भएको छ।

अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन्।

उनका अनुसार परियोजनाअन्तर्गत मुख्य एक्सप्रेस–वेको बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ। उक्त कार्यको करिब ८० प्रतिशत प्रगति भइसकेको छ भने केही स्थानमा कालोपत्रे गर्न मात्र बाँकी छ।

मुख्य एक्सप्रेस–वे निर्माणका लागि चिनियाँ पक्षले प्रारम्भिक डिजाइन (प्रिलिमिनरी डिजाइन) पेस गरिसकेको छ। त्यसमा नेपाल पक्षबाट आवश्यक सुझाव तथा टिप्पणी दिइसकिएको र हाल अन्तिम डिजाइन पेस गर्ने चरणमा रहेको पोखरेलले बताइन्।

‘यही मितिमा सुरू हुन्छ भन्ने छैन। मनसुन तथा चाडपर्वपछि कार्यान्वयनको चरणमा प्रवेश गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन्।

चीनमा टेन्डर प्रक्रिया नेपालको तुलनामा छोटो हुने भएकाले निर्माण प्रक्रिया छिट्टै अघि बढ्ने उनले विश्वास व्यक्त गरिन्। साइट क्लियरेन्स गर्न समय लागेकाले परियोजना ढिलाइ भएको उनको भनाइ छ।

घरटहरा, रुखविरुवा तथा अन्य संरचना हटाउने काम सम्पन्न नहुँदा चिनियाँ पक्ष निर्माणमा आउन नसकेको र त्यसैबीच कोभिड–१९ महामारीका कारण परियोजना करिब तीनदेखि चार वर्ष पछि धकेलिएको उनले बताइन्।

पछिल्लो समय भने आवश्यक कागजी प्रक्रिया, पत्राचार, सर्वेक्षण तथा डिजाइनसम्बन्धी काम निरन्तर अघि बढिरहेको उनले जानकारी दिइन्।

परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो। तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ। अन्तिम डिजाइनसँगै संशोधित लागत विवरण प्राप्त भएपछि मात्र यकिन लागत सार्वजनिक गर्न सकिने पोखरेलले बताइन्।

दोस्रो चरणमा सम्भावित जटिलतालाई पहिल्यै पहिचान गरी समाधानको प्रयास भइरहेको उनको भनाइ छ।

‘पहिलो चरणको कार्यान्वयन गर्दा के–के जटिलता हुन्छ भनेर थाहा पायौँ। त्यसैले कमजोरीलाई सम्बोधन गर्न पहिल्यैदेखि व्यापक अध्ययन, प्राविधिक अभ्यास तथा पत्राचारको काम गरेका छौँ,’ पोखरेलले भनिन्।

चिनियाँ पक्षले पनि तोकिएको समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उनले बताइन्। निर्माणका कारण सर्वसाधारणले केही समय असुविधा व्यहोर्नुपर्ने भएकाले धैर्य गरिदिन उनले आग्रह गरिन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी
तस्बिर: नेपाल फोटो लाइब्रेरी

तस्बिर: नेपाल फोटो लाइब्रेरी
तस्बिर: नेपाल फोटो लाइब्रेरी
तस्बिर: नेपाल फोटो लाइब्रेरी
तस्बिर: नेपाल फोटो लाइब्रेरी
तस्बिर: नेपाल फोटो लाइब्रेरी
तस्बिर: नेपाल फोटो लाइब्रेरी
तस्बिर: नेपाल फोटो लाइब्रेरी


Read Previous

विद्युत् तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

Read Next

म्याक्सस ई-टेरोन ९ कम्फर्ट नेपालमा सार्वजनिक, पहिलो ५० ग्राहकले ८८ लाखमै पाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar