
काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको छ।
महानगरपालिकाका अनुसार केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माण सम्पन्न भएपछि मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। केन्द्र सञ्चालनमा आएपछि काठमाडौंको फोहोर व्यवस्थापन थप आधुनिक, व्यवस्थित र वातावरणमैत्री हुने महानगरको अपेक्षा छ।
हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने तथा सङ्कलन गर्ने अभ्यास रहेकाले दुर्गन्ध, प्रदूषण र स्वास्थ्यसम्बन्धी जोखिम बढ्दै गएको छ। यही अवस्थालाई सुधार गर्न टेकुमा आधुनिक प्रविधियुक्त फोहोर स्थानान्तरण केन्द्र निर्माण भइरहेको हो।
केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोरको वर्गीकरण गरिनेछ। केन्द्रभित्र रहने सामग्री पुनःप्राप्ति केन्द्रमा जैविक र अजैविक फोहोर छुट्याइनेछ। अजैविक फोहोरलाई पुनः प्रयोगका लागि पठाइनेछ भने जैविक फोहोर बञ्चरेडाँडा फोहोर व्यवस्थापन केन्द्रमा पठाउने योजना छ।
त्यसैगरी, जैविक फोहोरलाई कम्पोस्ट मल उत्पादनमा उपयोग गर्ने सम्भावनालाई समेत महानगरपालिकाले अघि बढाइरहेको छ।
महानगरपालिकाका अनुसार केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको परिमाणसमेत घट्नेछ। फोहोरलाई स्रोतमै वर्गीकरण गरी पुनः प्रयोगमा जोड दिँदा अन्तिम विसर्जनका लागि लैजानुपर्ने फोहोरको मात्रा कम हुने अपेक्षा गरिएको छ।
महानगरपालिकाले केन्द्र सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, सुरक्षित र दीर्घकालीन बनाउने लक्ष्य राखेको जनाएको छ।
