Nepal Purbadhar

विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धितालको कमब्याक, को हुन धिताल?


काठमाडौं। नेपाल सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ।

साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

सरकारले ल्याएको पछिल्लो अध्यादेशले अधिकांश नियुक्तिहरू खारेजीमा पर्दा उनि पनि स्वत: बर्खास्त भएका थिए। उनै धिताललाई सरकारले पुन: आयोगमै नियुक्ति दिएको हो।

डा. धिताल ऊर्जा, विद्युत् नियमन, जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका वरिष्ठ ऊर्जा विज्ञ, नीतिनिर्माता तथा व्यवस्थापक हुन्। उनले नेपालसहित अफगानिस्तान, दक्षिण प्रशान्त महासागर क्षेत्रको टापु राष्ट्र भानुआतु र यमनलगायत विभिन्न देशमा ऊर्जा नीति, विद्युत् नियमन, ग्रामीण विद्युतीकरण, जलविद्युत् विकास तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

उनी यसअघि नेपाल विद्युत् नियमन आयोगको निवर्तमान अध्यक्षका रूपमा कार्यरत थिए। आयोगमा रहँदा उनले विद्युत् बजार सुधार, खुला पहुँच, विद्युत् महसुल निर्धारण, प्रसारण शुल्क, ऊर्जा भण्डारणसम्बन्धी नियामकीय व्यवस्था, संस्थागत विकास तथा विद्युत् क्षेत्रको सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। आयोगको स्थापनाकालमा करिब दुई वर्ष सदस्यका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ।

यसअघि धितालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकका रूपमा चार वर्ष काम गरेका थिए। सो अवधिमा उनले नेपालभर १० लाखभन्दा बढी घरधुरीमा नवीकरणीय ऊर्जा प्रविधिको पहुँच विस्तार तथा विभिन्न राष्ट्रिय ऊर्जा नीति निर्माण र कार्यान्वयनमा नेतृत्व गरेका थिए।

उनले एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्र विकास कार्यक्रम तथा अन्तर्राष्ट्रिय सौर गठबन्धनलगायतका अन्तर्राष्ट्रिय संस्थामा ऊर्जा नीति, विद्युत् नियमन, सीमापार विद्युत् व्यापार, परियोजना वित्त तथा संस्थागत सुदृढीकरणसम्बन्धी वरिष्ठ परामर्शदाताका रूपमा समेत काम गरेका छन्।

धिताल काठमाडौं विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत रहनुका साथै संसद्को पूर्वाधार विकास समितिमा ऊर्जा सल्लाहकारका रूपमा समेत योगदान गरिसकेका छन्।

उनले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक तह पूरा गरेका छन्। जर्मनीको ओल्डेनवर्ग विश्वविद्यालयबाट नवीकरणीय ऊर्जा इन्जिनियरिङमा स्नातकोत्तर गरेका धितालले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट सन् २०१९ मा नवीकरणीय ऊर्जा इन्जिनियरिङमा विद्यावारिधि गरेका हुन्।

त्यसैगरी, उनले स्विडेनको लुन्ड विश्वविद्यालयबाट दिगो विकासका लागि ऊर्जा र लगानीसम्बन्धी अध्ययन गरेका छन्। निजी–सार्वजनिक साझेदारी, नेतृत्व विकास तथा आयोजना व्यवस्थापनसम्बन्धी विषयमा डेनमार्कलगायतका संस्थाबाट प्रमाणपत्र हासिल गरेका छन्।

यस्तै, इटालीस्थित युरोपेली विश्वविद्यालयको फ्लोरेन्स स्कुल अफ रेगुलेसनबाट विद्युत् प्रणाली नियमनसम्बन्धी पाँचमहिने तालिम तथा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट सेवा प्रदायकको नियमन तथा रणनीति र सेवा प्रदायकको वित्तीय विश्लेषणसम्बन्धी तालिम लिएका छन्।


Read Previous

नेपालमा फिक्स्ड इन्टरनेट कनेक्सन ३५ लाखभन्दा बढी, वर्ल्डलिंक अघि पछ्याउँदै नेपाल टेलिकम

Read Next

टेकुमा आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने महानगरको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar