Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

‘बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती


नवलपुर । वर्षेनी नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि गरिएको बिग बोल्डरले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का धेरै वस्ती जोगाएको हो ।

“गएका वर्षमा बाढी आएपछि नारायणी नदी किनारका बासिन्दा सुरक्षित ठाउँ खोजेर जानुपर्ने अवस्था थियो”, गैँडाकोटका ७८ वर्षीय यमलाल विश्वकर्मा भन्छन् । अहिले नदीमा बाढी आए पनि ढुक्कसँग घरमै बस्नसक्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । वर्षेनी बाढी आउँदा गैँडाकोट–५ कुसुमघाटका स्थानीयले सास्ती भोग्दै आएका थिए । कटान हुने क्षेत्र तटबन्ध निर्माणपछि समस्या समाधान भएको उनले बताए ।

नारायणी नदी व्यवस्थापन कार्यालय भरतपुरले गत वर्ष नवलपुरतर्फ नदी किनारमा ‘बिग बोल्डर’ निर्माण गरेपछि बाढीबाट हुने कटान रोकिएको हो । बाढी आउँदा रातभरि सुत्न नसकिएको स्मरण गर्दै तटबन्धको व्यवस्थापनपछि ढुक्कसँग बस्ने वातावरण बनेको स्थानीय बताउँछन् । गत वर्षदेखि यस क्षेत्रमा नदीको कटान पूर्णरुपमा रोकिएको विश्वकर्माले बताए ।

“विभिन्न ठाउँबाट टिपरमा ल्याइएका ठूलाठूला ढुङ्गा नदी किनारमा हालिएका छन् । नदीमा आएको बाढीले माटो भेट्दैन ठूला ढुङ्गा बगाउन र फुटाउन नसकेपछि बस्ती जोगिएको विश्वकर्माको भनाइ छ । उनका अनुसार बाढीले वर्षेनीयहाँको खेतीयोग्य जमिन बगरमा परिणत गर्नुका साथै यहाँका बासिन्दालाई विस्थापित गर्दै आएको थियो । “बाढीले मेरो पनि नदी किनारमा भएको जमिन काटेको थियो”, नारायणीको किनारमा राखिएका ठूला ढुङ्गा देखाउँदै उनले भने, “पोहोर साल यी ढुङ्गा नराखेको भए सायद म पनि घरबारविहीन हुने अवस्था आउने थियो ।”

नदी व्यवस्थापन कार्यालयले नदीको व्यवस्थापनअन्तर्गत तटबन्ध लगाउने काम गरेसँगै यहाँका बस्ती विस्थापितक्रम रोकिनुका साथै नदी किनारमा ठूलाठूला होटल खुल्न सुरु भएको स्थानीय मनिषा पौडेलले बताइन् । नदी किनारका बासिन्दा डराउनुपर्ने अवस्थाको अन्त्य भएको छ उनको भनाइ छ । पहिले यहाँको जमिन बेचेर अन्तै सर्नुपर्छ कि भन्ने सोच आएको भएपनि अहिले आफूहरु ढुक्क भएको उनी बताउँछिन् । नदी कटान नियन्त्रण भएसँगै जीविकोपार्जन गर्न पनि सहज भएको उनको भनाइ थियो ।

नारायणी नदीमा यस वर्ष दुईपटक ठूलो बाढी आयो । नदीमा आएको बाढीका कारण अन्य पालिकामा कटान गरेको भए पनि गैँडाकोटको वडा नं ५ सुरक्षित बनेको कार्यालयका सूचना अधिकारी इञ्जिनियर शङ्कर बुढाथोकीले बताए । कार्यालयले आगामी चार वर्षभित्रमा सबै नदी किनारका बस्तीलाई सुरक्षित पार्ने गरी काम अगाडि बढाइरहेको उनको भनाई छ । रासस


Read Previous

बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार

Read Next

क्याटो र मरिम्ला नाका खोल्न आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *