काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल बर्षापछि अबरुद्ध बनेको भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । सोमवार सुदुरपश्चिमको जनप्रतिनिधिहरुको टोलीलाई भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन् । सुदुरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग केही दिनदेखि अबरुद्ध छ ।
सडक अबरुद्ध बनेलगतै मन्त्री ज्वालाले सडक विभाग र मातहतका निकायलाई तत्काल सडक सुचारु गर्न निर्देशन दिए । तर लगातारको बर्षाले सडक पूर्णरुपमा सञ्चालन गर्न सकिएको छैन । सडक डिभिजन कार्यालय सडकको अबरोध हटाउन दैनिक राजमार्गमा खट्टिएको छ ।
मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेको जनप्रतिनिधिको टोलीले भीमदत्त राजमार्गको वैकल्पिक मार्ग देवी–जोगबुढा सडक सञ्चालनमा ल्याउन माग गरेको थियो । मन्त्री ज्वालाले वैकल्पिक राजमार्ग सञ्चालनको अवस्था बुझेर अगाडी बढ्ने बताए ।
प्रतिनिधि मण्डलले ८ वर्षदेखि अलपत्र परेको कञ्चनपुरको कृष्णपुर–१ ओदालखोला पुल निर्माण कार्य छिटो सक्न माग गरेको थियो । ८ वर्षअघि टेण्डर भएको तर ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै जनप्रतिनिधिको टोलीले तत्काल पुलको विषयमा टुंगो लगाउन माग गरेको थियो । जवाफमा मन्त्री ज्वालाले पुल महाशाखासँग सल्लाह गरी निर्माण कम्पनीले निर्माण कार्य तत्काल नथाले कारवाही गर्ने चेतावनी दिएका छन् ।