काठमाडौं । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सहकारबीच सहकार्य जरुरी रहेको बताएका छन् ।
हिमालय उद्धार सङ्घको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा आज आयोजित कार्यक्रममा उनले पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताएका हुन् ।
‘हिमाल र पर्वतारोहण क्षेत्रमा पुगेर हिमालय उद्दार सङ्घले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, यस्ता संस्थालाई सरकारको तर्फबाट साथ र सहयोग रहन्छ’ उनले भने ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीले देशको पर्यटन क्षेत्रको विकासका लागि यससँग सम्बन्धित सङ्घ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकारले अगाडि सारेको सम्पदा घुमौ अभियानलाई अगाडि बढाउन सबै क्षेत्रको साथ र सहयोग रहेको धारणा राखे ।
हिमालय उद्दार सङ्घका निवर्तमान अध्यक्ष हरि धरेलले नेपालको पर्वतारोहण क्षेत्रमा जाने पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सङ्घले सोलुखुम्बुको फेरिचेमा स्वास्थ्यचौकी स्थापना गर्न लागेको बताए ।
हिमालय उद्धार सङ्घको अध्यक्षमा पराजुली निर्वाचित
हिमालय उद्दार सङ्घको जेठ २१ गते सम्पन्न अधिवेशनबाट डम्बर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । सङ्घको उपाध्यक्षमा कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री र कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै, सदस्यमा दावा शेर्पा, विकास रौनियार, प्रयुश न्यौपाने, तुलसिंह गुरुङ, सुवास दवाडी वारिस धरेल र यादव अधिकारी निर्वाचित भएका हुन् ।। उक्त कार्यसमिति तीन वर्षका लागि सर्वसम्मत निर्वाचित भएको हो ।