
काठमाडौं। प्रतिनिधिसभाले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले विधेयकलाई विस्तृत छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
यसैगरी, बैठकले पूर्वउपप्रधानमन्त्री तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २०८३ साउन १९ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।
