
काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न सबै पक्षसँग अपिल गरेको छ।
महासंघले बिहीबार जारी गरेको अपिलमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारका लागि नेपाल सरकारसँग माग गरेको छ।
महासंघले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र द्वन्द्वबाट हुन नसक्ने उल्लेख गर्दै नेपाली समाजको आपसी एकता, सहिष्णुता र सद्भावलाई जोगाउनु सबैको साझा दायित्व भएको जनाएको छ। सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन र संयमता अपनाउन सबै नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालासँग आग्रह गरिएको छ।
अपिलमा सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
महासंघले पछिल्ला दिनमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत केही जिल्लामा जारी विरोध प्रदर्शनका कारण यातायात सेवा प्रभावित भएको उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गरी यात्रुलाई सहज रूपमा आवतजावत गर्ने वातावरण बनाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग आग्रह गरेको छ।
साथै, राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघ–संस्था, सञ्चारमाध्यम र सबै सरोकारवालालाई सामाजिक सद्भाव कायम राख्दै सार्वजनिक यातायात सेवा निर्वाध सञ्चालनका लागि सहयोग गर्न महासंघले अपिल गरेको छ।
