Nepal Purbadhar

समस्याग्रस्त जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने सरकारको तयारी, यसकारण भत्किएकाे थियाे जब्दिघाट पुल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण सम्पन्न भएको तर उद्घाटन नहुदै भत्किएको जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने तयारी गरेको छ । भत्किएको पुलको करिब ५ सय मिटरभित्रै नयाँ पुल निर्माण गर्ने तयारी गरेका छौं’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बुधबार मन्त्रालयमा पत्रकारसँग भने । त्यसको लागि १० दिनभित्रै टेण्डरको सूचना निकाल्ने उनको भनाइ छ ।

सडक विभागका महानिर्देशक सुशील बाबु ढकालको नेतृत्वमा केही दिनअघि स्थलगत अवलोकन र समस्याग्रस्त पुलको विकल्पबारे जब्दिघाट पुगेको थियो । महानिर्देशक ढकालले समस्याग्रस्त पुलको नजिकै अर्को पुल निर्माण गर्नको लागि स्थानीयदेखि राजनीतिक नेतृत्वसम्मका सबै सरोकारवाला सहमत भएको बताए । ‘मन्त्रीज्यूले भनेजस्तै केही दिनमै डिजाइन र निर्माण निर्माण कम्पनीले गर्ने गरी सूचना निकाल्ने तयारी गरेका छौं’ उनले भने । प्राविधिक र प्रक्रिया पूरा गरेर काम अघि बढाउने सरकारको तयारी छ ।

समस्याग्रस्त पुलेको भत्किएको खण्ड हटाउन शुरु

सडक विभागले जब्दीघाट पुलको भत्किएर नदीमा परेको भागलाई हटाउन शुरु गरेको छ । त्यसको लागि आवश्यक मेसिन परिचालन भइसकेको मन्त्री ज्वालाले जानकारी दिए । भत्किएको खण्ड नहटाउने हो भने वर्खामा नदीको प्रवाहलाई रोक्ने वा अन्य दुर्घटना हुन सक्ने सम्भावना भएकाले भत्किएको खण्ड हटाउन लागिएको हो । यससम्बन्धी निर्णय २८ बैशाखमा गरिएको थियो ।

करिब ६ वर्ष पहिले २०७४ साउनमा जब्दीघाट पुल भत्किएको थियो । बर्दियाको जब्धीघाटस्थित बबई नदीमा निर्माण भएको पुलको निर्माणको क्रममा चरम लापरबाही भएको इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको अध्ययन प्रतिवेदनले देखाएको थियो ।

ठेकेदार कम्पनी पप्पु कष्ट्रक्शनले सावधानी नअपनाउँदा पुल सम्पन्न हुनुअघि नै भत्किएको हो । भत्किएपछि सरकारले ठेकेदार कम्पनीलाई पुननिर्माण गर्न भनेको थियो । तर, पप्पुले निर्माण नगरेपछि ठेक्का तोड्नुको साथै कार्बाहीसमेत गरेको थियो । त्यसपछि निर्माण कम्पनीले अदालतमा मुद्धा हाल्यो, त्यसको अन्तिम फैसला अझै नआएकाले त्यही पुल निर्माणको लागि सरकारले नयाँ ठेक्का लगाउन सकेको छैन । सरकारले यस्तो अवस्थामा नजिकै नयाँ पुल निर्माणको विकल्प निकालेको हो । पुल नहुँदा बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाका नागरिकको पहुँच टुटेको छ ।

जब्दिघाट पुल भत्किनुको कारण

जब्दिघाट पुल निर्माणको डिजाइनमा २ फुट डाइमिटर भएको १६ मिटर गहिरो पाइल (स्ट्रक्चर अड्याउने पोल) गाड्नुपर्ने थियो । त्यसरी गाडीएको पोलको माथिबाट तयार गरिएको कक्रिट हालेर बलियो संरचना बनाउनुपर्ने थियो । तर, निर्माण कम्पनी, सरकारी इञ्जिनियर र कामदारको असावधानी र लापरवाहीको कारण गाडिएको पाइलको बिचतिर फुट्यो वा दुलो पर्यो ।

यसको परिणाम कंकिट बस्नुपर्ने ठाउँमा माटो जम्मा हुन पुग्यो । इञ्जियिनरिङ अध्ययन संस्थानले गरेको अध्ययनअनुसार पाइलको माथिल्लो ५ मिटरसम्म कंक्रिट हालिएको छ, त्यसपछि २ मिटरमा माटो छ भने त्यसपछि पुन कंक्रिट भेटिएको छ । जसको कारण जति ‘लोड’ पुलले थाम्नुपर्ने थियो । त्यो थाम्न सकेन । यही कमजोरीले गर्दा पुल भत्कियो ।

Facebook Comments

Read Previous

महासंघकाे सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन

Read Next

बजेटमार्फत २०९० सालसम्म उत्पादन शुरु गर्ने जलविद्युत आयोजनालाइ १५ वर्षसम्म करमुक्त गराउन इप्पानको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar