Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

आर्थिक वर्ष नसकिँदै सकिए जैमिनीका ९५ प्रतिशत विकास आयोजना  


बलेवा । चालू आर्थिक वर्ष सकिन झण्डै साढे २ महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका ९५ प्रतिशत विकास आयोजना पूरा भएका छन् । नगरपालिकामा सञ्चालित विकासका आयोजना आर्थिक वर्ष सकिनु अगावै सम्पन्न भएका हुन् ।

जैमिनीमा चालू आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको नगरपालिकाले जनाएकाे छ । याेजना सकिएपछि अहिले यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणकाको तयारीमा जुटेका छन् ।

५ प्रतिशत बाँकी केही ठूला आयोजनाको काम चलिरहेका छन् । बहुवर्षे कार्यक्रमको भुक्तानी दिन बाँकी छ । नगर र वडास्तरका सबै योजनाको काम चैत मसान्तभित्रै सकिएकाले कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएका हुन् । जैमिनीले चालु आवमा विनियोजन भएका कार्यक्रम सम्झौताका लागि मङ्सिर मसान्तको समय तोकेको थियो ।

केही ढिलागरी सम्झौता भएकासमेत चैत मसान्तमा अधिकांश योजनाको भुक्तानी फरफारकको काम सकिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । “नगरस्तरका झण्डै चार सय योजनामध्ये ९५ प्रतिशतको काम सकिएर फरफारक भएको छ”, गिरीले भने, “समपुरकका केही योजना बाँकी छन्, बहुबर्षे योजनाको कामबाहेक सबै काम सकेका छौं ।”

सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेका तीन सडक र एक खानेपानी आयोजनाको काम चलिरहेको योजना अधिकृत प्रेम सापकोटाले बताए ।  त्यो बाहेक ५ वटा झोलुङ्गे पुल बनाउने योजना सञ्चालनमा छन् । गत वर्षका गरी २५ विद्यालय भवन निर्माणाधीन छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बनिरहेका विद्यालय भवनमध्ये ४ वटा भवनको काम सकिएर फरफारक भएका छन् । झोलुङ्गे पुल, विद्यालय भवन र समपुरकका सडक र खानेपानीबाहेक सबै योजना कार्यान्वयन सम्पन्न भएका छन् । असारको मसान्त नजिकिँदै गर्दा भीडभाड हुने नगर कार्यपालिकाको कार्यालयमा यो वर्ष भीड हुने छैन ।

“आगामी वर्षको तयारीका लागि पर्याप्त समय उपलव्ध भएको छ, असारे विकास अन्त्य प्रयास थालेका हौँं, केही हदसम्म सफल भएका छौं”, नगर उपप्रमुख हरिहर शर्माले भने “मङ्सिर र चैत मसान्तको समयसिमाले काम द्रुत भए ।” उपभोक्ता समितिबाहेक ठेक्कामा गर्नुपर्ने काममा भने समयसिमा आयोजना सम्झौताकै समयमा तोकिने हुनाले त्यसको प्रभाव नपरेको उनले बताए ।

जैमिनीका १० वटै वडास्तरका योजनाको काम सकिएको छ । कार्यक्रम सम्झौता नै हुन नसकेका केही योजनाको रकमान्तर गरेर काम भइरहेको गिरीले बताए । “वडामा पनि हामी लक्ष्यको नजिक छौँ, रकमान्तर भएकाबाहेक सबै काम सकिए”, उनले भने “उपभोक्ता पनि उत्साहित भएर काममा लाग्नुभएकाले यो सफल भएको हो ।”

नगरपालिकाले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र नगरको सञ्चितकोष लगायत परिचालन गरेर योजनाको भुक्तानी समयमै दिएको हो । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाट र समानीकरण अनुदान कमी आएमा ठूला योजनामा असर पर्ने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए ।


Read Previous

मोहरेडाँडामा खानेपानीको समस्या   

Read Next

अन्तर्राष्ट्रिय मुद्रा काेषले  नेपाललाई ७ अर्ब ऋण दिने

Leave a Reply

Your email address will not be published.