Nepal Purbadhar

वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व संकलन


वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व संकलन गरेको छ। चालू आवको साउनदेखि पुससम्ममा एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् ७६ अर्ब ६३ करोड चार लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए।

उनका अनुसार सो भन्सार कार्यालयको चालू आवमा दुई खर्ब ६१ अर्ब ९९ करोड राजस्व संकलन गर्ने लक्ष्य छ। हालसम्म वार्षिक लक्ष्यको ५१ प्रतिशत राजस्व संकलन भएको सूचना अधिकृत ढकालले बताए। सो भन्सार कार्यालयले गत आव २०७८÷७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७÷७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व संकलन गरेको थियो। चालु आवमा पनि लक्ष्यानुसार राजस्व संकलन हुने सम्भावना कम रहेको सूचना अधिकृत ढकालको भनाइ छ।

समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व संकलन घटेको सूचना अधिकृत ढकालले बताए। सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था हुने उनको भनाइ छ।


Read Previous

दोदा नदीबाट अवैध बालुवाको तस्करी रोक्न वडा कार्यालयले थाल्यो निगरानी

Read Next

एनएमबी बैंकको प्राथमिकतामा ऊर्जा र पर्यटन पूर्वाधार,जलविद्युतमा मात्रै २८ अर्ब बढी लगानी प्रतिबद्धता