Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

२ सय मेगावाट विद्युत प्रवाह हुने बुटवल-लुम्बिनी प्रसारण लाइन र सबस्टेसन उद्घाटन


भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा प्रसारण क्षमता वृद्धि गरी प्राविधिक चुहावट नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको १३२ केभी बुटवल–लुम्बिनी (योगीकुटीदेखी मैनहियासम्म) डबल सर्किट प्रसारण लाइनको उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार प्रसारण लाइन तथा त्यस अन्तर्गत निर्माण भएको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुसालले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ मन्त्रालयले काम गरिरहेको बताइन् । ‘विद्युत नपुगेको ठाउँमा दुई वर्षभित्र पहुँच पुर्याउन र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो सेवा दिन काम गरिरहेका छौं,’ उनले भनिन् ।

उनले बूढीगण्डकीलगायत ठूला जलशाय जलविद्युत आयोजना निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइन् । उनले खाना पकाउन प्रयोग हुने एलपिजी ग्याँसको विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिँचाइमा विद्युत प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढाउनु पर्नेमा जोड दिइन् ।

प्रसारण लाइन र सबस्टेसनको निर्माण भई सञ्चालनमा आएसँगै भैरहवा क्षेत्रमा करिब २ सय मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार पनि भएको छ । उद्घाटनमा पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माण पछि यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गरे ।

प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको र उद्योगहरूलाई मागेजति विद्युत दिन सकिने अवस्था बनेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

बुटवल सबस्टेसनबाट मात्र विद्युत आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै घिसिङले अब यो क्षेत्र विद्युत हब बनेको बताए । ‘लोडसेडिङ अन्त्य एउटा काम थियो । अब वितरण प्रणाली सुधार र २४ सै घण्टा भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्ति, उद्योगलाई मागजति विद्युत दिन पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि काम भइरहेको छ,’उनले भने,‘अहिले आन्तरिक रूपमा खपत भई बढी भएको करिब १० करोड रुपैयाँ बराबरको विद्युत दैनिक निर्यात गरिरहेका छौं ।’

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे र जेम्बर अफ कमर्शका जेपी कँडेलले प्रसारण र सबस्टेसन सञ्चालनपछि यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको उल्लेख गरे ।

सरकार र विद्युत प्राधिकरणको लगानीमा बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । १३२/३३/११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत आपूर्ति दिइएको आयोजना प्रमुख हरी पाण्डेले बताए ।

स्थानीय स्तरमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ ।

१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ ।


Read Previous

विद्युत आयोजनाको अध्ययन अनुमतिपत्रको म्याद २ वर्ष थप गर्न इपानको माग

Read Next

अष्ट्रेलियासँग जलस्रोत सहकार्यको कार्यान्वयनका लागि पहल सुरु

Leave a Reply

Your email address will not be published.