
काठमाडौं। बाढीले क्षतिग्रस्त विपी राजमार्गको पुनःनिर्माणले गति लिएको छ। सिन्धुलीको बर्खेखोला-पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। यससँगै काभ्रेपलाञ्चोकतर्फका अन्य तीन खण्डमा पनि पुनःनिर्माण भइरहेको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बर्खेखोला-पिप्ले सडकखण्ड पुनःनिर्माणका लागि जाइकासँग २ अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको छ। डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले जाइकाले हालै निर्माण कार्य सुरु गरेको जानकारी दिए।
काभ्रेपलाञ्चोकतर्फ पिप्लेदेखि भकुण्डेबेँशीसम्मको सडक पुनःनिर्माणमा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ। उक्त सडकखण्ड तीन भागमा विभाजन गरी निर्माण भइरहेको छ।
पिप्लेदेखि डालाबेँशीसम्मको २.३ किलोमिटर सडक निर्माणको जिम्मा उमा एण्ड कम्पनी-भण्डारी अमरज्योती जेभीले पाएको छ। कम्पनीले २०८४ कात्तिक २६ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, डालाबेँशीदेखि चारसयबेँशीसम्मको ८.५ किलोमिटर सडक निर्माणको जिम्मा खानी-एवान-कमलजीत जेभीले पाएको छ। उक्त खण्ड २०८४ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ।
चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको ११.८ किलोमिटर सडक निर्माणको जिम्मा लामा-नवकान्तिपुर जेभीले पाएको छ। यो खण्ड २०८४ असार १७ गतेभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको कार्यालयले जनाएको छ।
डिभिजन प्रमुख योगेशका अनुसार विपी राजमार्गको पुनःनिर्माण लक्ष्यअनुसार अघि बढिरहेको छ। आगामी वर्षायाम सुरु हुनुअघि नै निर्माणाधीन तीनवटै खण्डमा एक तह कालोपत्रे गर्ने तयारी गरिएको छ। बाढीले क्षति पुर्याएको सडकलाई डेडिकेटेड डबल लेनका रूपमा पुनःनिर्माण गरिँदैछ।
विसं २०८१ असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्म करिब २९ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फको २५.११ किलोमिटर सडक तीन खण्डमा पुनःनिर्माण भइरहेको छ।
यसका लागि सरकारले कुल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ।
पुनःनिर्माण जारी रहे पनि हाल सडकबाटै सवारी आवागमन भइरहेको छ। केही साँघुरा स्थानमा डाइभर्सन बनाएर दुईतर्फी यातायात सञ्चालन गरिएको कार्यालयले जनाएको छ। चौकीडाँडा र पिन्थलीमा भिरालो भूभागका कारण सडक मर्मत तथा डाइभर्सनको व्यवस्था गरिएको छ। डालाबेँशी-पिप्ले खण्डमा पनि यस्तै व्यवस्था गरिएको छ।
वर्षाका कारण सडक माथिबाट लेदो वा पहिरो खसेर आवागमन अवरुद्ध भए आधादेखि केही घण्टाभित्र सडक खुलाउन आवश्यक सामग्रीको व्यवस्थापन गरिएको योगेशले बताए।
पुनःनिर्माण योजनाअन्तर्गत पाँच ओटा पुललाई दुई लेनमा विस्तार गर्ने र तीनवटै खण्डमा ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण गर्ने योजना छ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा रहेको विपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो। आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरू भएको १६० किलोमिटर लामो धुलिखेल-सिन्धुली-बर्दिबास सडक २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

