Nepal Purbadhar

तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा, मूल्य प्रतिकिलो २ हजार २०० सम्म


बागलुङ। तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा सहर-बजारमा भित्रिन थालेका छन्। दसैँ-तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन रहेकाले व्यापारीले मुस्ताङ र डोल्पाबाट बागलुङ, पर्वत, कास्की, काठमाडौं, चितवन र बुटवलसम्म च्याङ्ग्रा पुर्‍याउन थालेका हुन्।

पछिल्लो एक सातादेखि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै डोल्पा र तिब्बतबाट भेडा-च्याङ्ग्रा बजारमा ल्याउन थालिएको छ। अघिल्ला वर्ष दसैँका बेला हजारौँको संख्यामा भेडा-च्याङ्ग्रा भित्रिने गरे पनि यस वर्ष बाढीपहिरोका कारण निकै कम संख्यामा आएका छन्।

बागलुङ आउने मालढुंगा पुलको पहुँचमार्ग बाढीले बगाएपछि दसैँमा च्याङ्ग्रा बजार झार्न समस्या भएको थियो। अहिले मौसम अनुकूल भएपछि व्यापारीले च्याङ्ग्रा ल्याउन थालेका छन्। बागलुङमा रोज्जा च्याङ्ग्राको मूल्य ३५ हजारदेखि ५२ हजार रुपैयाँसम्म छ।

डोल्पा-मुस्ताङ सीमाबाट करिब २३ दिनको यात्रा गरेर बागलुङ आइपुगेको व्यापारी दिक्पाल गुरुङले बताए। दसैँका बेला बाढीपहिरोका कारण च्याङ्ग्रा बजार ल्याउन नसकेको र अहिले मौसम राम्रो भएकाले ३०० ओटा च्याङ्ग्रा ल्याएको उनले जानकारी दिए।

‘हामीले ल्याएका च्याङ्ग्रा केही मुस्ताङका हुन्, केही डोल्पाका हुन्। काठमाडौंसम्म पुर्‍याउने योजना छ। हेरौँ, अब कस्तो हुन्छ,’ उनले भने।

बागलुङ बजारमा च्याङ्ग्राको मासु प्रतिकिलो २ हजार २०० रुपैयाँसम्म पुगेको उपभोक्ता विजय पौडेलले बताए। गत वर्ष प्रतिकिलो १ हजार ९०० रुपैयाँसम्ममा च्याङ्ग्राको मासु पाइने गरेको उनले सुनाए।

बाढीपहिरोका कारण च्याङ्ग्राको मासुको मूल्य बढेको हुन सक्ने पौडेलको अनुमान छ। हिमाली च्याङ्ग्राको मासु अन्य पशुको तुलनामा स्वादिष्ट र स्वस्थकर हुने भएकाले यसको माग बढ्ने गरेको उनको भनाइ छ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी


Read Previous

पुनःस्थापनामा सरकारी ढिलासुस्तीले अलपत्र परे भोटेकोशीका बाढीपीडित, आश्रयस्थल छोड्दै

Read Next

बाढीले उजाडिएको फोर्से बजारमा चाडपर्वको छैन रौनक – तस्बिरहरू सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar